काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भएका निराशालाई आशामा बदल्ने ठोकुवा गरेका छन् । ७३ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा उनले निराशा, अविश्वास र शिथिलताबाट नागरिकलाई मुक्त गर्ने अभिभारा बोकेर सरकार अगाडि बढिरहेकाले नआत्तिन भनेका छन् ।
वर्तमान सरकारले अर्थतन्त्र चलायमान गराउन, उत्पादन एवं उत्पादकत्व र जिडिपी वृद्धि गर्नका निम्ति नयाँ अध्यादेश ल्याएको पनि उनले स्पष्ट पारे ।
सरकारले ल्याएका अध्यादेशहरुलाई निजी क्षेत्रले सकारात्मकरुपमा लिएको भन्दै उनले आगामी दिनमा सरकारले अर्थतन्त्र सुधारका थप कदमहरु चाल्ने बताए ।
उनले जनताका निराशालाई आशामा र अविश्वासलाई विश्वासमा, शिथिलतालाई क्रियाशिलतामा बदल्नुपर्ने सरकारको दायित्व भएको भन्दै नागरिकलाई सुखी र समृद्ध बनाउने दिशामा सरकार क्रियाशिल रहेको बताएका छन् ।






















