काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडको प्राथमिक शेयर (आईपीओ) खुल्ला भएको छ । कम्पनीले २ करोड २५ लाख रुपैयाँ बराबरको २ लाख २५ हजार कित्ता शेयर निष्काशन गरेको हो । कम्पनीले यो आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको हो ।
कम्पनीले आफ्नो जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो। त्यसमध्ये १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रुपैयाँ बराबरको २ लाख २५ हजार कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको हो । शेयरको अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ रहेको छ ।
कम्पनीले कर्मचारीहरुका लागि ३ प्रतिशतले हुन आउने ६७ हजार ५०० कित्ता शेयर र ५ प्रतिशतले हुन आउने १ लाख १२ हजार ५०० कित्ता शेयर छुट्याएको छ भने बाँकी १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सर्वसाधारणका लागि निष्काशन गर्ने जनाएको छ।
कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले माघ २२ गतेसम्म आवेदन दिन सक्नेछन्।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाईन प्रयोग गरी सि–आस्वा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।






















