काठमाडौं । नेपाल एशोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को नेतृत्व र नेपाल पर्यटन बोर्डको सहकार्यमा म्याड्रिड, स्पेनमा आयोजना हुने विश्वप्रसिद्ध अन्तर्राष्ट्रिय ट्राभल ट्रेड फेयर फितुर–२०२५ मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डल त्यसतर्फ प्रस्थान गरेको छ । २५ भन्दा बढी ट्राभल, ट्रेकिङ र होटल व्यवसायका कम्पनीहरूबाट ५० भन्दा बढी प्रतिनिधिहरू मेलामा सहभागी रहेको टोलीको नेतृत्व गरेका नाट्टाका अध्यक्ष कुमारमणि थपलियाले जानकारी दिए ।
मेला जनवरी २२ देखि २६ सम्म आयोजना हुनेछ।
नेपालका लागि महत्वपूर्ण मानिने युरोपेली बजारमा नेपालको पर्यटन प्रवर्द्धन गर्न यो सहभागिता विशेषरूपमा लक्षित रहेको अध्यक्ष थपलियाले बताए । विगतका वर्षहरु जसरी नै नेपाल पर्यटन बोर्ड र नाट्टाको संयुक्त सहकार्यमा नेपालका पर्यटन व्यवसायीहरूको यस मेलामा सहभागिता रहेको नाट्टाले जनाएको छ ।
अघिल्लो वर्ष २०२४ को संस्करणमा भने नेपाल पर्यटन बोर्डको आन्तरिक समस्याका कारण बोर्डले पर्यटन मेलामा सहभागी भएको थिएन तर नाट्टा आफैंले सहभागिता जनाएको थियो । सदाझैं नेपाल पर्यटन बोर्डले मेलामा नेपालका लागि स्टलको व्यवस्था गर्ने गरेको छ भने नाट्टाले सहभागी व्यवसायीहरूको छनोट, व्यवस्थापन र समन्वयको जिम्मेवारी बहन गर्ने गरेको छ । मेला सहभागिता तथा टोली व्यवस्थापनको जिम्मेवारी नाट्टा सह–कोषाध्यक्ष एवं कार्यक्रम संयोजक ढकनाथ काफ्लेले लिएका छन् भने कार्यसमिति सदस्य श्रद्धा जोशी सह–संयोजक रहेका छन् ।
टोली प्रस्थान गर्नु अघि नाट्टा अध्यक्ष कुमारमणि थपलियाले प्रतिक्रया दिँदै फितुरजस्ता अन्तर्राष्ट्रिय मेलामा सहभागीताले नेपालको पर्यटनलाई विश्वभर चिनाउन अत्यन्त महत्वपूर्ण रहने बताए । ‘यस्ता कार्यक्रमहरुले हामीलाई पर्यटन बजार विस्तार गर्न, नयाँ साझेदारहरूसँग सम्पर्क स्थापित गर्न र नेपाललाई एउटा प्रमुख गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुयाउँछ ।’ उनले भने, ‘नेपालमा पर्यटन क्षेत्रको दिगो विकासका लागि यस्ता कार्यक्रमहरूमा निरन्तर सहभागिता आवश्यक छ । नेपालका ट्राभल, ट्रेकिङ र होटल व्यवसायीहरूको सशक्त उपस्थिति यस मेलामा देखाउनु हाम्रो प्राथमिकता हो र यस पटकको सहभागिताले युरोपेली बजारमा हाम्रो पहिचान अझ मजबुत बनाउन म विश्वस्त रहेको छु ।’
फितुर मेला विश्वका सबैभन्दा ठूलो ट्राभल ट्रेड फेयरहरू मध्ये एक हो, जसमा १ लाख भन्दा बढी पर्यटकीय उद्योग व्यवसायी, प्रतिनिधि र व्यवसाय साझेदारहरूको उपस्थिति रहने अपेक्षा गरिन्छ । युरोपेली बजार नेपाल पर्यटनको प्रमुख स्रोत बजार हो र यस क्षेत्रमा नेपालको सांस्कृतिक, प्राकृतिक तथा साहसिक पर्यटनको सम्भावना अत्यधिक रहेको छ।
नेपालका आकर्षक गन्तव्य तथा पर्यटकीय श्रोतहरुलाई विश्वव्यापी बनाउँदै आर्थिक गतिविधिलाई बलियो बनाउन यस्ता मेलाहरू महत्वपूर्ण प्लेटफर्मको रूपमा स्थापित भएका छन् । नाट्टा र नेपाल पर्यटन बोर्डको सहकार्यले नेपालको पर्यटन व्यवसायलाई नयाँ उचाइमा पुऱ्याउने लक्ष्य लिएको छ । यस्ता अन्तर्राष्ट्रिय मेलाहरूले व्यवसायीहरूलाई नयाँ व्यापारिक सम्भावना खोज्न सहयोग पुऱ्याउने मात्र नभई, नेपालका पर्यटन क्षेत्रमा नवीनतम अन्तर्राष्ट्रिय ट्रेन्ड र प्रविधिहरू समावेश गर्न प्रेरित गर्ने विश्वास व्यक्त गरिएको छ ।
नेपाललाई एक प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न यी र यस्ता कार्यक्रमहरूमा निरन्तर सहभागिताले दीर्घकालीन प्रभाव पार्ने आशा गरिएको छ ।





















