मोरङ । उद्योग संगठन मोरङले माघ ११ देखि २० गतेसम्म आयोजना गर्ने आठौँ संस्करणको विराट एक्स्पो २०२५ को अवलोकन गर्ने उद्योगी व्यवसायीहरु, उद्योग विशेषका समस्यालाई समाधान गर्ने प्रयत्न स्वरुप एक्स्पो स्थलमा बिजनेश क्लिनिक पेभिलियन राखिन भएको छ । एक्स्पोमा बिजनेश क्लिनिकलाई भर्चुअल प्लेटफर्मका रुपमा व्यवस्थित गरेर अवलोकनकर्ता उद्योगी, व्यवसायीहरुका उद्योग विशेष समस्याहरु दर्ता गर्ने र दर्ता गरिएका समस्याहरुलाई वर्गिकरण तथा आवश्यक प्रशोधन गरी तथ्यमा आधारित रहेर एक्स्पो अवधीमा ‘बिजनेश क्लिनिक’ मा सरोकारवाला र सम्बन्धीत अन्य निकायहरुको समेत उपस्थितिमा गहन छलफल र अन्तरिक्रया गरेर समस्या समाधानको प्रयत्न गर्ने संगठनको योजना रहेको छ ।
संगठनले यो क्लिनिक विगत तिनवर्षदेखि सञ्चालन गर्दै आएको छ । त्यस अवधिमा सुनसरी मोरङ औधोगिक क्षेत्रका विभिन्न ७५ वटा उद्योगको स्थलगत भ्रमण गरेर सम्बन्धीत उद्योगका १२२ वटा मुद्धा पहिचान गरेर समाधानका लागि आवश्यक पहल गरेको जनाएका छ । त्यही फिजिकल अवस्थालाई संगठनले एक्स्पोमार्फत भर्चुअल प्लेटफर्ममा विकास गर्दै छ । यो प्लेटफर्म विकास भएपछि उद्योगीहरुले आफनो समस्या उद्योगमै बसेर दर्ता गरेर संगठनको डिजिटल प्लेटफर्ममार्फत समाधान खोज्न सक्ने अवस्थाको सृजना हुने जनाइएको छ ।
संगठनले यो क्लिनिकलाई नियमित र व्यवस्थित बनाउन कार्यसमिति सदस्य पारस लुनियाको नेतृत्वमा बेग्लै समिति तयार गरेको छ । संगठनले सञ्चालन गर्दै आएको यही बिजनेश क्लिनिकको उपलब्धी र अवधारणालाई आधार मानेर चेम्बरहरुले गर्ने बहस पैरवीको क्षेत्रमा नयाँ आयाम थपेको मान्दै कन्फीडिरेशन अफ एशिया प्यासेफिक चेम्बर अफ कमर्स एण्ड इन्ड्रष्ट्रिले उद्योग संगठन मोरङलाई गत कात्तिकमा उत्कृष्ट च्याम्वर अवार्ड प्रदान गरेको थियो ।






















