skip this News Page Tips Ad Road Block

माघदेखि सद्गमय रियालिटी सोको दोस्रो सिजन प्रशारण हुने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौँ । सद्गमय रियालिटी सो कार्यक्रमको दोस्रो सिजन प्रशारणको घोषणा भएको छ । १५ एपिसोड संचालन हुने सो २०८१ माघ १७ गतेबाट हरेक बिहीबार साँझ ८ः३० बजे एपी वान टेलिभिजनमा प्रशारण हुने छ।

कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्दै नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले कार्यक्रमले समाज रूपान्तरणमा सहयोग पुग्ने हुनाले यस्ता कार्यक्रम निर्माण र प्रशारणमा जोड दिनुपर्ने बताएका छन् । त्यसैगरी एमालेका नेता एवम् पूर्व कानुन मन्त्री पदम गिरी टेलिभिजनहरूले समाज रूपान्तरमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको सन्दर्भमा अझ प्रभावकारी हुन र आफ्नो दायित्व निर्वाह गर्न सुझाएका छन् ।

पूर्व मन्त्री एवम् एकीकृत समाजवादीकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले प्रेसले स्वतन्त्रताको नाममा सामाजिक आँच आउने खाले गतिविधि बढाउन थालिएकोप्रति सचेत हुनुपर्ने भन्दै नियमनको आवश्यकता रहेको औँल्याइन् । अहिलेको प्रेस चरित्र हत्या गरेर भ्यूज बढाउन लागि परेको उनको आरोप थियो ।

रास्वपाका सचेतक निशा डाँगीले खोज पत्रकारिताको स्वरूप फेरिँदै गएकोप्रति चिन्ता व्यक्त गरेकी छिन् ।

नेपाल विज्ञापन संघका अध्यक्ष सुदीप थापाले अहिले बजार कमजोर भएको समयमा यस्ता कार्यक्रमको निर्माण गर्न चुनौति थपिएको बताएका छन् । उनले भने, ‘कमजोर बजारको प्ररिणाम सबै क्षेत्रले भोगिरहेका छन् तर त्यसको मारबाट विज्ञापन क्षेत्रसमेत अछुतो रहन सकेको छैन ।’

कार्यक्रम प्रस्तोता रमेश पौडेलले समाजमा भएका विभिन्न समस्याको उजागर गर्न र ती समस्यालाई कसरी निराकरण गर्न सकिन्छ भन्ने उद्देश्यले कार्यक्रम निर्माण गरिएको बताएका छन् । सामाजिक रूपान्तरका लागि बनाइएको कार्यक्रम हुनाले कसैमाथि आरोप प्रत्यारोप र राजनीतिक गन्धबाट मुक्त हुने बनाउन लागिपर्ने उनले बताए ।

सद्गमय कार्यक्रमको निर्माण संस्कृति एड्भरटाइजिङ प्रालिले गरेको हो भने यो कार्यक्रम निर्माण समूहका निर्देशक मोहनराज अधिकारी, प्रस्तोता रमेश पौडेल, अनुसन्धान तथा कथा लेखन साहित्यकार बोधराज पौडेल, डिओपीमा धन योञ्जन तामाङ रहेका छन् ।

कार्यक्रमको अध्यक्ष अन्नपूर्ण ब्रोर्डकाष्ट मिडिया प्रालिका उपाध्यक्ष राजेन्द्र शाक्यले यो कार्यक्रम निर्माण गरी आवाजविहिनको आवाज मुखरित गर्न लागिपरेको भनाइ राखेका छन् ।

Health Tips Ad Road Block