skip this News Page Tips Ad Road Block

ईपिएस भाषा उत्तीर्ण सबैलाई कोरिया लैजान श्रममन्त्री भण्डारीको आग्रह, दक्षिण कोरिया सकारात्मक

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । ईपिएस प्रणालीमार्फत थप कामदार लैजान दक्षिण कोरिया सकारात्मक देखिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीसँग नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क ताइयोङले भेट गरी उक्त विषय उजागर गरेका हुन् ।

भेटका क्रममा नेपाल र दक्षिण कोरियाबीच भएको श्रम सम्झौताका विभिन्न पक्षहरूबारे गहन छलफल भए‌को थियो। विशेषत ईपिएस प्रणाली अन्तर्गतको सम्झौतालाई पुनरावलोकन गरी नवीकरण गर्ने, सीपयुक्त कामदारलाई दक्षिण कोरिया पठाउने सम्बन्धी कार्यविधि, ईपिएस उत्तीर्ण भई रोष्टरमा रहेका नेपाली कामदारलाई शीघ्र रोजगारमा पठाउने, कृषि, बिल्डिंग लगायतका क्षेत्रमा छनौट भएका कामदारका मागहरु सम्बोधन गर्ने, कोरिया जान सबै चरण पुरा गरी उडानका लागि पर्खाईमा रहेका नेपाली कामदारहरुलाई छिटो, सरल र सहज ढंगबाट दक्षिण कोरिया पठाउन थप सहजीकरण गर्नुपर्ने विषयमा छलफल भएको मन्त्रीको सचिवालयले जनाएको छ ।

भेटघाटका क्रममा मन्त्री भण्डारीले दक्षिण कोरिया जानका लागि परीक्षा उत्तीर्ण गरी रोष्टरमा रहेका सबै नेपाली लाई पठाउन र आगामी दिनमा कामदारको माग संख्या बढाउनका लागि पहल गर्नुपर्ने बताए । कोरिया भाषा परीक्षा उत्तीर्ण गरेका, तयारीमा रहेका, विगतमा रोष्टरमा नाम परेका तर कोरिया जान नपाएका व्यक्तिहरु समेतलाई लक्षित गरी आगामी दिनमा विशेष व्यवस्था गर्नुपर्ने र सो कार्यका लागि सीप विकासमा कोरिया सरकारले सहयोग गर्नुपर्ने उनले बताए ।

भेटका क्रममा नेपालका लागि दक्षिण कोरियाका राजदूत ताइयोङले नेपाली कामदारहरुको उच्च कदर गर्दै नेपालबाट निरन्तर रुपमा कामदार लैजाने, रोष्टरमा नाम समावेश भएका व्यक्तिलाई उच्च प्राथमिकताका साथ रोजगारमा लैजान पहल गर्ने र थप नेपाली कामदार लैजाने विषयमा आफू सकारात्मक रहेको बताएका थिए ।

नेपाली कामदारका लागि दक्षिण कोरिया उत्कृष्ट गन्तव्य रहेको र आगामी दिनमा सीपयुक्त कामदार पठाउन सकिने समेत सम्भावना भएको हुँदा दुवै पक्षले सीप विकास कार्यमा मिलेर अगाडि बढ्ने प्रतिबद्धता सो अवसरमा गरेका थिए ।

Health Tips Ad Road Block