तनहुँ । उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपालकाे अर्थतन्त्रलाई समृद्ध बनाउन कृषि उत्पादन वृद्धिमा जाेड दिनुपर्ने बताएका छन् । बिहिबार तनहुँ महाेत्सवमा सम्बाेधन गर्दै उनले कृषककाे भलाई र देशकाे आर्थिक विकासका लागि कृषि उत्पादन बढाउनुपर्नेमा जाेड दिए ।
तनहुँ जिल्लाकाे राजनीतिक रूपमा मात्र नभई कृषि,पर्यटन र उर्जाकाे क्षेत्रमापनि महत्वपूर्ण भूमिका रहेका सिंहले बताए । `नेपालकाे अर्थतन्त्रलाई अगाडि बढाउन हामीले उर्जालाई व्यवस्थित गर्नुपरेकाे छ । कृषि उत्पादन वृद्धि गर्न तपाईं हामी सबैले जाेड दिनुपर्छ भन्नेमा दुइमत छैन,´ उनले भने । काेभिडले नेपालकाे अर्थतन्त्रमा असर पारेपनि अहिले पर्यटन क्षेत्रमा उल्लेख्य सुधार आएकाे र त्यसले राेजगारी सिर्जनासँगै अर्थतन्त्रमा समेत महत्वपूर्ण याेगदान पुर्याएकाे सिंहले बताए ।
त्यस्तै उनले महाेत्सवले आर्थिक गतिविधि बढाउन, स्थानीय उत्पादनकाे बजारीकरण गर्न सघाउ पुग्ने विश्वास व्यक्त गरे । उपप्रधानमन्त्री सिंहले वर्तमान सरकारकाे प्राथिमकता नागरिककाे जिविका सहज बनाउनु रहेकाे भन्दै त्यसका लागि सरकारले कृषि, पर्यटन, उर्जा लगायतका क्षेत्रकाे विकासमा विशेष ध्यान दिइरहेकाे बताए ।
महाेत्सवले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक नेपाली समाजकाे चित्र प्रस्तुत गरेकाे भन्दै उनले कलासँस्कृतिकाे संरक्षण र प्रवर्द्धनका लागि पनि महाेत्सव हुनु सकारात्मक रहेकाे धारणा राखे ।





















