विराटनगर । रुग्ण आयोजना व्यवस्थापनमा ध्यान दिन सरकारी तवरबाट कर्मचारीहरुलाई निर्देशन दिइएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले अलपत्र र रुग्ण आयोजनाहरुका कारण विकास निर्माण कार्य रोकिन नहुने भन्दै जुनसुकै कारणले रोकिएका भए पनि त्यस्ता आयोजनाहरुको व्यवस्थापनमा ध्यान दिन कर्मचारीलाई निर्देशन दिएका हुन् ।
मोरङको विराटचोकमा सडक विभागले गरेको आयोजना सञ्चालन तथा व्यवस्थापनसम्वन्धी कार्यक्रममा मन्त्री दाहालले रुग्ण आयोजना व्यवस्थापन एवम् बेरुजू फस्र्यौटलाई ध्यान दिन निर्देशन दिए । मन्त्री दाहालले भने, ‘कुनै ऐन, कानूनले समस्या पारेको छ भने हामीलाई भन्नुहोला, त्यसलाई समाधान गर्न मन्त्रालय लाग्छ । सरकारले काम गर्छ तर अब योजना अवरुद्ध पार्ने कार्य मान्य हुँदैन ।’ कतिपय सरकारी निकायहरु विचनैं समन्वय नहुँदा पनि काममा ढिलाई हुने गरेको उल्लेख गर्दै सडक, विद्युत, खानेपानी, वन लगायतका निकायहरुबीच समन्वय गरि निर्माण कार्यलाई गति दिन उनले निर्देशन दिए ।
मन्त्रालयले लोकप्रियताका लागि नभई आवश्यकता र औचित्यका आधारमा योजना छनौट गर्ने भन्दै कर्मचारीहरुलाई पनि योजना छनौट र सिफारिस गर्दा त्यस तर्फ ध्यान दिन आग्रह गरे ।
मन्त्रालयका सचिव केशवकुमार शर्माले असल नियत राखेर दृढतापूर्वक कार्य सम्पादन गर्न भन्दै रुग्ण आयोजनाहरु पहिचान गरि प्राथमिकता दिएर व्यवस्थापन गर्न निर्देशन दिए ।
यस्तै सडक विभागका महानिर्देशक रामहरी पोखरेलले सडक संरचनाहरु निर्माण गर्दा सुरक्षा र दिगोपनालाई प्राथमिकता दिएको भन्दै सोहि ढंगबाट काम गर्न निर्देशन दिएका थिए ।





















