काठमाडौं । पर्यटनसँग सम्बद्ध विभिन्न संघ सस्थाले नेपालको पर्यटन विकास र विस्तारको लागि नेपाल वायुसेवा निगमको स्तरोन्नतीसहित मुख्य स्रोत बजारमा सेवा बिस्तार गर्न सुझाव दिएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेसँगको छलफलमा पर्यटन सम्बद्ध विभिन्न संघ सस्थाले नेपालको पर्यटन विकास र विस्तारको लागि नेपाल वायुसेवा निगमको स्तरोन्नतीसहित मुख्य स्रोत बजारमा सेवा विस्तार गर्न भनेका हुन् ।
यस्तै नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई सेवा प्रदायक र नियामक निकायका रुपमा विभाजन गर्ने विधेयक मन्त्रिपरिषदबाट स्वीकृत भएकोमा समेत मन्त्री पाण्डेलाई उनीहरुले धन्यवाद दिए ।
यो विधेयक संसदले पास गरे युरोपबाट नेपालमा पर्यटनकको वृद्धि हुने उनीहरुको भनाइ थियो । पर्यटनको विकासका लागि पर्यटन बोर्डमार्फत् अन्तर्राष्ट्रिय बजारमा आक्रमक प्रवद्र्धन गर्न पनि उनीहरुले सुझाव दिएका छन् ।
यस्तै लुक्लामा हेलिकोप्टर उडानमा भएको समस्याले समेत पर्यटनमा समस्या हुने भनाइ उनीहरुको थियो ।
छलफलमा मन्त्री पाण्डेले पर्यटन क्षेत्रमा देखिएका समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्दै नितिगत सुधारमा सहयोग गर्न समेत आग्रह गरेका थिए । हरेक महिना यस्ता छलफल गर्ने समेत सहमति भएको मन्त्रीको सचिवालयले जानकारी दिएको छ ।






















