हेटौंडा । नाडा अटोमोवाइल्स एशोसिएशनअफ नेपाल, हेटौंडा अटोमोवाइल्स एशोसिएशन र नाडा संस्थागत एशोसिएशनबीच नाडा अटोमोबाइल्स क्षेत्रमा देखिएका विविध समस्याका विषयमा छलफल भएको छ । हेटौंडा अटोमोवाइल्स एशोसिएशनको २४ औं वार्षिक साधारण सभाको सन्दर्भमा नाडा र संस्थागत एशोसिएशनबीच छलफल भएको हो ।
सोक्रममा उपस्थित सदस्यहरुले अटोमोवाइल क्षेत्रमा देखिएका विभिन्न समस्याहरुका सम्बन्धमा प्रश्न र जिज्ञाशाहरु राखेका थिए । कार्यक्रममा खाशगरी भन्सार विभाग र वाणिज्य विभागले जारी गरेको यम.आर.पी, भन्सार मूल्याङ्कनको समस्या, साफ्टा अन्तर्गत आएका अटोमोवाइल वस्तुहरु, झोले व्यापारीले पुर्याएको समस्या, मधेश प्रदेशमा बिना प्यान नम्बर सञ्चालन ३००० पसलहरुको कारण अन्य व्यवसायीहरुलाई परिरहेको नकारात्मक असरका विषयमा छलफल भएको थियो । त्यस्तै भ्याटमा दर्ता भएर राख्नु पर्ने लेखासम्बन्धी समस्याहरु, सदस्यहरुको हितका लागि भलाई कोषको व्यवस्था, व्यवसायमा चेक बाउन्सको व्यवहारिक समस्या, अटोमोवाइल व्यवसायीहरु इन्स्योरेन्समा आवद्ध नहुँदाको समस्या र नाडाका प्रदेश एशोसिएशनहरुलाई साधारण सभा सम्पन्न गर्नका लागि पनि नाडाले आर्थिक स्रोतको व्यवस्था गरिदिनुपर्ने जस्ता विषयमा पनि छलफल भएको नाडाले जनाएको छ ।
सोक्रममा नाडाका अध्यक्ष करण चौधरीले छलफलमा उठेका प्रश्नहरुको उत्तर दिएका थिए । नाडाका केन्द्रीय कार्य समितिका सदस्य सुनिल रिजालले स्पेयर पार्टस र एम.आर.पीका सम्बन्धमा उठेका प्रश्नहरुको जवाफ दिएका थिए । कार्यक्रमको अन्त्यमा नाडाका महासचिव सुरेन्द्रकुमार उपे्रतीले नाडा प्रदेशहरुलाई कर, भन्सार र भिसिटियस सम्बन्धी प्रशिक्षण कार्यक्रम र सीप विकास सम्बन्धी तालिम कार्यक्रमको आयोजना गर्न आग्रह गर्दै त्यसका लागि नाडाले आवश्यक सहयोग गर्ने बताए । हेटौडा अटोमोवाइल्स एशोसिएशनका अध्यक्ष ऋषिप्रसाद ढकालले विभिन्न समस्याका विषयमा उजागर गरेका थिए ।
नाडाका तर्फबाट संस्थागत सदस्य कुलबहादुर क्षेत्री, केन्द्रीय कार्यसमिति सदस्य मेघराज पौडेल, केन्द्रीय कार्यसमिति आमन्त्रित सदस्यद्धय नारायणप्रसाद पौडेल र सागर सापकोटाको उपस्थिति रहेको थियो ।
त्यसैगरी हेटौडा अटोमोवाइल्स एशोसिएशनका निवर्तमान अध्यक्ष दामोदर अटल, वरिष्ठ उपाध्यक्ष धर्मराज धिमाल, उपाध्यक्ष जितेन्द्र तिवारी, महासचिव दिपेन्द्रकुमार उपे्रती, सचिव संञ्जयकुमार गुप्ता, कोषाध्यक्ष श्यामप्रसाद कँडेल, कार्य समिति सदस्यद्धय उत्तमप्रसाद भण्डारी, सुजन उपे्रती, देवनारायण टुलाल, मुनालराज न्यौपाने, प्रकाश भट्टराई, क्षेत्रिय संयोजक दिपेश खड्गी, जानकी अटोमोवाइल्स एशोसिएशन अफ नेपालका प्रथम उपाध्यक्ष राहुल अग्रवाल लगायतले नाडाका विषयमा आ–आफ्नो धारणा राखेका थिए ।
अन्तरक्रिया कार्यक्रम सम्पन्न हुनु अघि हेटौंडामा नाडाको इतिहासमा पहिलो पटक नाडा इण्टर प्रोभिन्स लेभल फ्रेण्डली व्याडमिण्टन प्रतियोगिता समेत सम्पन्न गरिएको थियो । कूल ८ टिमबीच डबल्स व्याडमिन्टन प्रतियोगिता आयोजना गरिएकोमा चितवन अटोमोवाइल्स एशोसिएशनका पूर्व अध्यक्ष अमृत जोशी र कार्य समिति सदस्य श्रीप्रसाद श्रेष्ठको जोडीले प्रतियोगितामा विजयी हासिल गरको थियो । यस किसिमका कार्यक्रहरुले नाडा र नाडाका संस्थागत एशोसिएशनहरुबीचको सम्बन्ध थप सुदृढ र प्रगाढ हुँदै जाने विश्वास नाडाले लिएको छ ।






















