Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकासमा ध्यान केन्द्रित गर्ने बेला आएको छः प्रचण्ड

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको आर्थिक अवस्थामा परिवर्तन ल्याउन अर्थतन्त्रमा व्यापक सुधार गर्ने समय आएको बताएका छन् ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघको सातौं वार्षिक साधारण सभा तथा तेस्रो राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उनले यस्तो धारणा राखेका हुन् । ‘विगत लामो समयदेखि नेपालको अर्थतन्त्रमा देखिएका चुनौतीहरुको सामना गर्दै यसको सुधारका पक्षमा व्यवसायीहरुले धैर्यता र संयमताका साथ गरिरहेको योगदान स्मरणीय र उल्लेखनीय छ’, उनले भने, ‘अब क्रमशः नेपालको अर्थतन्त्रमा सुधारका संकेतहरु देखा पर्न थालेका छन् । लगानीमैत्री वातावरण, उत्पादन वृद्धि र व्यापार व्यवसायको प्रवर्धन मार्फत स्वरोजगारी र रोजगारीका अवसर सिर्जना गर्दै अर्थतन्त्रमा व्यापक सुधार गर्न हाम्रो सम्पूर्ण ध्यान केन्द्रित गर्ने बेला आएको छ ।’

लामो राजनीतिक संघर्ष र ठूलो बलिदानपछि देशमा जनताको व्यवस्था संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरिएको उल्लेख गर्दै उननले परिवर्तित राजनीतिक व्यवस्थाअनुकूल जनताको अवस्था परिवर्तन गर्न आर्थिक क्षेत्रमा व्यापक सुधार अनिवार्य भएको बताए । सामाजिक न्यायमा आधारित आर्थिक समृद्धिले मात्रै जनताको जीवनस्तर माथि उठाउन संभव भएको स्पष्ट गर्दै उनले देशको सम्पूर्ण ध्यान आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकासमा केन्द्रित गर्ने बेला आएको बताए ।

‘यहाँहरु जानकार नै हुनुपर्छ, मैले तीनपटक प्रधानमन्त्री हुँदा मुलुकको आर्थिक सुधारका लागि उल्लेख्य थालनीहरु गरेको थिएँ । मेरो पहिलो कार्यकाल पूर्वाधार विकास र प्रशासनिक सुधारमा केन्द्रित थियो’, अध्यक्ष प्रचण्डले भने, ‘मध्यपहाडी लोकमार्ग जस्ता राष्ट्रिय गौरवका परियोजनाले पहाडी क्षेत्रको अर्थतन्त्रलाई सुदृढ गर्न महतत्वपूर्ण सफलता प्राप्त भएको छ । मेरो दोस्रो कार्यकाल नेपालको इतिहासकै महत्वपूर्ण मानिएको ऊर्जा संकट समाधानमा केन्द्रित थियो ।’

दिनमा १८ घण्टासम्म लोडसेडिङ भित्तामा लोडसेडिङको तालिका टाँसेर आफ्नो उद्योग व्यवसाय सञ्चालनको समय पर्खनुपर्ने जर्जर अवस्थालाई अन्त्य गर्दै आफू दोस्रोपटक प्रधानमन्त्री हुँदा लोडसोडिङमुक्त उज्यालो नेपालको थालनी गरिएको स्मरण गर्दै उनले भने, ‘नेपालको अर्थतन्त्र सुधारका लागि यो ऐतिहासिक कोशेढुंगा थियो भन्नेमा आम उद्योगी व्यवसायीहरु जानकार नै हुनुहुन्छ । मेरो दोस्रो कार्यकालकै परिणामको स्मरण गर्दा चौधौं राष्ट्रिय योजनामा लक्ष्यभन्दा बढी ७।५ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुनु महत्वपूर्ण प्रगति थियो।’

अध्यक्ष प्रचण्डले आफूले तेस्रोपटक सरकारको नेतृत्व गर्न पाउँदा सुशासन र सामाजिक न्यायसँगै आर्थिक समृद्धिलाई महत्वपूर्ण राष्ट्रिय एजेण्डाको रुपमा स्थापित गरेर यसलाई राज्यको अभियानकै रुपमा अघि बढाएको बताए । ‘ मैले सरकारको नेतृत्व लिंदै गर्दा नेपालको अर्थतन्त्र कमजोर मात्र थिएन, विभिन्न आर्थिक संकट झेलिरहेका देशहरुसँग तुलना गर्दै नेपाल पनि आर्थिक संकटमा जाँदैछ भनेर एक प्रकारले आतंक नै खडा गरिएको थियो’, उनले भने, ‘तर, भ्रष्टाचारविरुद्ध कडा कदम चाल्दै जनतामा नयाँ आशाको जागृत गरेर आर्थिक क्षेत्रमा संरचनागत सुधारको प्रयास थालेपछि अर्थतन्त्र विस्तारै लयमा फर्कन थाल्यो र अहिले आशालाग्दो गरी यसले गति लिइरहेको छ । क्रमशः आर्थिक सुधारका सकारात्मक परिणाम पनि आउन थालिसकेका छन् ।’

चालु आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम र बजेट निर्माणसम्म आइपुग्दा हामीले अर्थतन्त्रका रुपान्तरणकारी क्षेत्रको पहिचान र परिचालनका लागि स्पष्ट योजना अघि सारेका जानकारी दिंदै उनले भने, ‘कृषिलाई आधार र सूचना प्रविधिलाई नेतृत्वदायी भूमिकामा राख्ने अवधारणासहित कृषि, पर्यटन, जलविद्युत, उद्योग र सूचना प्रविधि क्षेत्रलाई रुपान्तरणकारी क्षेत्रका रुपमा पहिचान र परिचालन गर्नु आर्थिक समृद्धिको क्षेत्रमा महत्वपूर्ण सुरुवात हो । हामीले व्यवस्थितरुपमा अघि बढाएका यी आर्थिक सुधारका पहल र कार्यक्रम वर्तमान सरकारले त्यही गतिमा सञ्चालन गरिरहेको छैन । नेपाल राष्ट्रिय व्यवसायी महासंघ लगायत आर्थिक क्षेत्रका नेतृत्वदायी संस्थाहरुले अघिल्लो सरकारले अघि बढाएका अर्थतन्त्र सुधारका व्यवस्थित पहल र योजनाहरु कार्यान्वयनका लागि सरकारलाई दबाब दिन आवश्यक देखिएको छ र त्यसका लागि सबै व्यवसायी साथीहरुलाई म आग्रह पनि गर्दछु ।’

संविधानको अभिष्ट समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्नु रहेको उल्लेख गर्दै उनले त्यसका लागि उत्पादनमुखी अर्थतन्त्रलाई प्रवर्धन गर्दै आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकास गर्नुपर्नेमा जोड दिए । ‘राष्ट्रिय अर्थतन्त्रको विकासका लागि राष्ट्रिय पुँजीको निर्णायक भूमिका रहन्छ । राष्ट्रिय पुँजी परिचालनमार्फत आत्मनिर्भर अर्थतन्त्रको विकास गर्न साना तथा मझौला उद्योग व्यवसायीको महत्वपूर्ण भूमिका रहन्छ’, अध्यक्ष प्रचण्डले भने, ‘देशभरिका हजारौं व्यवसायीको नेतृत्व गर्ने नेपाल राष्ट्रिय व्यवसायी महासंघ जस्ता संस्थाहरुले आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकास गर्न प्रभावकारी पहल लिनुपर्ने बेला आएको छ । अब आर्थिक, राजनीतिक लगायत सबै क्षेत्रले आर्थिक समृद्धिलाई साझा एजेण्डा बनाएर कृषि र औद्योगिक क्षेत्रलाई सुदृढ गर्दै देशलाई आत्मनिर्भरताको बाटोमा लैजानु पर्दछ।’

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दिपक श्रेष्ठले युवाहरु विदेश गएका कारण देश खाली हुन लागिसकेका नेपालीलाई नेपालमा बस्न सक्ने अवस्था सिर्जना गर्नुपर्ने बताए । जम्मा १८ प्रतिशत विकास बजेटले देश चल्न नसक्ने भन्दै उनले अनधिकृत चोरी पैठारी रोक्नुपर्नेतर्फ सकारको ध्इानाकर्षण गराए । नेपाल उद्योग वाणिज्य महासंघकी उपाध्यक्ष ज्योत्सना श्रेष्ठले निजी क्षेत्र मैत्री उचित वातावरण निर्माण गर्नुपर्ने माग राखिन् । उद्यमी, व्यवसायी चोरजस्तो व्यवहार गर्ने कार्य बन्द गर्न उनले सरकारको ध्यानाकर्षण गराइन् ।

नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघका संस्थापक अध्यक्ष नरेश कटुवालले सरकारी मन्त्रालयमा जाँदा उद्यमी व्यवसायीलाई सम्मान हुने वातावरण निर्माण हुनुपर्ने बताए । उनले ठूलाको सिन्डिकेट तोडिनुपर्नै भन्दै समस्यामा परेका व्यवसायीलाई सम्बोधन गर्नुपर्ने धारणा राखे । व्यवसायीले तालाचाबी बुझाउनुपर्ने दिन नआओस् भन्ने चेतावनी दिँदै उनले बाध्यताबस विदेश जानुपर्ने अवस्था अन्त्य हुनुपर्ने बताए । माओवादी केन्द्रका सांसद माधव सापकोटा उद्यमी व्यवसायीका माग संसदमा उठाउने आश्वासन दिए । संसदको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले उद्योग व्यवसायीलाई हतोत्साहित पार्न नदिने प्रतिबद्धता जनाए ।

महासंघका वरिष्ठ उपाध्यक्ष मनोजबाबु श्रेष्ठले गरिखाने वर्गलाई विदेशिने क्रमबाट रोक्नुपर्ने, कर चुक्ता प्रमाण पत्र पाएपछि दिने दुःख हट्नुपर्ने, प्यानको सीमा ५० लाखबाट बढाएर २ करोड बनाउनुपर्ने लगायत विषयमा प्रचण्डमार्फत सरकारको ध्यानाकर्षण गराएका थिए ।

Health Tips Ad Road Block