काठमाडौं । रसुवागढी जलविद्युत कम्पनीद्धारा प्रवद्र्धित १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजनाबाट व्यापारिक उत्पादन सुरु भएको छ । पुस १६ गतेदेखि आयोजनाले व्यापारिक उत्पादन थालेको कम्पनीका प्रबन्ध निर्देशक छवि गैह्रेले जानकारी दिएका छन् ।
२०७० साल माघ २१ बाट शुरु भएको आयोजनाबाट व्यापारिक उत्पादन २०८१ मा आएर भएको हो । कम्पनी सचिव नरनाथ न्यौपानेका अनुसार रसुवाको टिमुरेमा निर्माण सम्पन्न १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजनाबाट उत्पादित विद्युतको नेपाल विद्युत प्राधिकरणसँग भएको विद्युत खरीद बिक्री सम्झौता बमोजिम व्यापारिक उत्पादन सुरु भएको हो ।

२०८० साल जेठ २६ मा पानी भरेर बाँध तथा बाँधस्थलका सम्पूर्ण गेटहरुको सफल परीक्षण गरेको आयोजनाले पछिल्लो कार्य तालिका अनुसार २०८० पुस १५ मा सुरुङमा पानी पठान्तरण गर्ने र १३२ केभी ब्याक चार्ज गर्ने तालिका राखेकोमा २०८० माघ ०३ बाट सुरुङमा पानी पठान्तरण गरी २०८० माघ २१ मा सबै परीक्षण सम्पन्न गरेको थियो । सो समय सम्ममा पनि राष्ट्रिय प्रसारण ग्रीडबाट १३२ केभी ब्याक चार्ज उपलब्ध हुन नसकेपछि लोड परीक्षण बाहेकका एक्साइटेसन, ओसीसी, एससीसी लगायतका कमिसनिङ कार्य गरि २०८१ जेठ ०२ बाट इलेक्ट्रोमेकानिक कार्यका ठेकेदारले आफ्नो कमिसनिङ टिम फिर्ता लगेका थिए ।
यस्ता विविध कठिनाईका बीच पनि २०८१ कार्तिक २५ बाट आयोजनाको प्रसारण लाईन राष्ट्रिय ग्रीडमा जोडिन सफल भएको कम्पनीले जनाएकाे छ । त्यसपश्चात् २०८१ मंसिर ०५ मा एउटा युनिटबाट विद्युत उत्पादन गरी सफलतापूर्वक राष्ट्रिय ग्रीडमा प्रसारण गरिएको थियो र २०८१ मंसिर २२ गते सबै युनिटहरुको उत्पादन परीक्षण सफलापूर्वक सम्पन्न भएकाे थियो ।
२०७२ सालको भूकम्प, नाकाबन्दी, हरेक वर्षको बाढी, पहिरो लगायत सर्ज टैंकको पोर्टलमा सुख्खा पहिरो गई सुरुङमा रहेका कामदारको सुरक्षा चुनौती आदिलाई पार गर्दै अघि बढेको आयोजनाले टेलरेस माथिको सतहमा भ्वाङ आदिको समस्या पनि बेहोरेको थियो । त्यस्तै अत्यन्त कमजोर भौगर्भिक अवस्थाको टेलरेस सुरुङमा धेरै अध्ययन अनुसन्धान, छलफल हुँदै सुस्त गतिमा निर्माण गर्दै गर्दा कोभिड–१९ को महामारीको सामना, मेलम्ची बजार डुबाएको दिन अर्थात् २०७८/०३/०१ मा आएको भिषण बाढी टेलरेस सुरुङ हुँदै भूमिगत विद्युतगृहमा पसि जडित उपकरणहरु डुबानमा परेपछि त्यतिबेला आयोजना पुनः समस्यामा परेको थियो । त्यसश्चात पुनः नयाँ उपकरणहरु पैठारी गरि उपकरण जडान शुरु गरेर ५ वर्षमा २७ वटा टावरको जग निर्माण गरी टावर पार्टस आयात गर्न पूर्व गर्नुपर्ने टावर परीक्षण समेत गर्न नसकेर अत्यन्त कमजोर कार्य सम्पादन गरेको कारण १० किलोमिटर लामो १३२ केभी प्रसारण लाईन निर्माण ठेकेदारको ठेक्का अन्त्य गरिएको थियो । त्यसपछि पुनः बोलपत्र आह्वान गरि २०७९ मंसिर १५ मा नयाँ ठेकेदारसँग सम्झौता गरेर उक्त कार्य सम्पन्न गरेको कम्पनीले जनाएको छ ।






















