काठमाडौं । आगामी फागुन १६ र १७ गते काठमाडौंमा पाँचौ संस्करणको राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन–२०८१ हुने भएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आज पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिएको हो ।
रोजगार क्षेत्रमा देखिएका समस्या र चुनौतीको विश्लेषण गरी आगामी दिनमा चाल्नुपर्ने नीतिगत कदम र कानूनी परिमार्जनका लागि सुझाव लिने मुख्य उद्देश्यले सम्मेलन आयोजना हुन लागेको मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाले जानकारी दिए । यसमार्फत श्रम बजारले खोजेको जनशक्ति उत्पादनमा ध्यान दिइने सचिव निरौलाले बताए ।
मन्त्रालयकाअनुसार सम्मेलनमार्फत उत्पादन र उत्पादकत्व अभिवृद्धिका लागि आन्तरिक रोजगार प्रवद्र्धन दशकको रणनीतिक कार्ययोजना उपर पृष्ठपोषण लिइने मन्त्रालयका सचिव एवं प्रवक्ता डण्डुराज घिमिरेले बताए । नेपालको श्रम रोजगार क्षेत्रमा संकुचन आएकोले यसको समाधानका लागि सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने उनको दाबी छ ।
पछिल्लो समय श्रमिकको माग न्यून हुँदै जानु, वस्तु र सेवाको उत्पादनमा लागत बढ्नु लगायतका विषयले चिन्ता थपेको भन्दै श्रमिकको मागलाई बढाउन अर्थतन्त्रको व्यापक सुधार आवश्यक रहेको मन्त्रालयको भनाइ छ ।
रोजगारी र उत्पादनशीलता अभिवृद्धिसँग सम्बन्धित तीनै तहका सरकार, निजी क्षेत्र, ट्रेड यूनियन, श्रम तथा रोजगार विषयसँग सम्बन्धित व्यवसायी र अनुसन्धानकर्ता, विज्ञ, विकास साझेदार, गैरसरकारी क्षेत्र लगायतको सहभागितामा सम्मेलन हुने मन्त्रालयले जनाएको छ ।
सरकारले यसअघि २०५४, २०६१, २०६९ र २०७६ सालमा राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन गरेको थियो ।























