Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

विकासका लागि श्रम र पूँजीलाई सँगै अघि बढाउन आवश्यक छ: राष्ट्रपति पौडेल 

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले श्रमप्रतिको सम्मान गरी श्रम र श्रमिक केही हुन भन्ने मान्यतालाई विशेष जोड दिएर मुलुकले चाहेको आर्थिक र भौतिक विकासको गति अघि बढाउनु आजको आवश्कता भएको बताएका छन् । संयुक्त ट्रेड युनियन समन्वय केन्द्रद्धारा काठमाडौमा मंगलबार आयोजित छैठौं श्रम संसदलाई सम्बोधन गर्दै उनले सो धारणा व्यक्त गरेका हुन् । मुलुकको विकास भनेको केवल आर्थिक र भौतिक मात्र नभइ यससँग मानवीय विषय पनि उत्तिकै जोडिएको उल्लेख गर्दै उनले प्राकृतिक स्रोत साधन र पूँजीको परिचालन श्रमजीवि वर्गले गर्ने बताए ।

“श्रम र पूँजीलाई सँगै अघि बढाउन आवश्यक छ, त्यसैले श्रमप्रतिको सम्मान गरी श्रम र श्रमिक केही हुन भन्ने मान्यतालाई विशेष जोड दिएर मुलुकले चाहेको आर्थिक र भौतिक विकासको गति अघि बढाउनु आजको आवश्यकता  हो भन्ने मलाई लाग्दछ”, उनले भने ।

आफ्नो राजनीतिक जीवनमा देशको सामाजिक र आर्थिक रुपान्तरणका लागि कृषक, श्रमिक तथा मजदुरको सम्मानको विषयलाई आफूले सदैव प्राथमिकता दिएको उनले स्मरण गरे । “निमुखालाई न्याय अनि विपन्नलाई आय र श्रमको सम्मान गर्ने संस्कृति नै यो देशको विकासको आधार हो भन्ने विषयलाई मैले सदैव जोड दिँदै आएको छु, सफल राजनीतिक परिवर्तनपछि देशले चाहेको विकास र समृद्धिको आधार पनि हामीले यही अवधारणाको जगमा खोज्नुपर्दछ”, राष्ट्रपति पौडेलले भने ।

यसैवर्ष जुनमा जेनेभामा सम्पन्न ग्लोबल कोलीसन फर सोसीयल जस्टीस सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा विश्वभरका श्रमिकहरूलाई सम्वोधन गर्दा पनि आफूले सामाजिक न्यायका लागि सबैबीच कसिलो गठबन्धन आवश्यक रहेकोमा जोड दिएको विषय पनि उनले स्मरण गरे ।

नेपालका श्रमजीवीहरूले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा गरेको योगदान सराहनीय रहेको र सोही योगदानका कारण संविधानमा उचित श्रम अभ्यास, संगठन गर्न पाउने स्वतन्त्रता, सामूहिक सौदावाजी र योगदानमा आधारित सामाजिक सुरक्षाजस्ता विषय मौलिक हककारुपमा रहन पुगेको उनले उल्लेख गरे ।

“नेपालमा सबैभन्दा ठूलो श्रमिकहरूको संख्या कृषि क्षेत्रमा रहेको हुनाले मैले ‘व्यवसायिक कृषि कार्यक्रम’ र कृषि क्रान्तिको कुरा श्रमिकको जीवनमा क्रान्ति ल्याउनकै लागि गरेको हुँ”, उनले भने ।

राष्ट्रपति पौडेलले अहिले भौतिक विकासका रुपमा भएको प्रकृतिको दोहन र मानवीयताप्रतिको बेवास्ताले विश्वमा दिनानुदिन जलवायु परिवर्तनको जोखिम बढेको पनि बताए ।

Health Tips Ad Road Block