काठमाडौं । सरकारी तवरबाट सहकारीको बचत रकम अपचलन, दुरुपयोग र ठगी प्रकरणमा अनुसन्धान, छानबिन प्रक्रिया जारी रहँदा सहकारीपीडित सर्वसाधारणको बचत रकम फिर्ताको काम पनि सँगसँगै भइरहेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले संघीय सरकार मातहतमा रहेका समस्याग्रस्त सहकारीबाट बचत रकम फिर्ता गराउने कार्य अगाडि बढाएको हो ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका सदस्यसचिव केशवप्रसाद पौडेलका अनुसार कुबेर बचत तथा ऋण सहकारी संस्थाका १० बचतकर्ताले ५७ लाख ६३ हजार ४६७ रुपैयाँ, स्ट्यान्डर्ड मल्टिपर्पोज कोअपरेटिभका १६ बचतकर्ताले ७५ लाख २८ हजार ८२४ रुपैयाँ र चार्टड सेभिङ एन्ड क्रेडिट कोअपरेटिभका १४ बचतकर्ताले ८४ लाख ११ हजार ४९४ रुपैयाँ फिर्ता पाएका छन् । यी तीन वटै सहकारीका सबै बचतकर्ताको रकम फिर्ता भएको उनले जानकारी दिएका छन् ।
त्यसैगरी सदस्यसचिव पौडेलले नौ वटा सहकारीको बचत रकम फिर्ता गर्ने तयारी भइरहेको जानकारी दिएका छन् । उनका अनुसार असार मसान्तभित्रै एक हजार २९३ जना बचतकर्ताको रकम फिर्ता गराउने गरी समितिले लगत संकलन, माग दाबी निवेदन लिएर सम्बन्धित सहकारीको पुँजी अद्यावधिक गरिरहेको छ । उनका अनुसार नौ वटा सहकारीबाट एक अर्ब ११ करोड ८५ लाख ५२ हजार ९९७ रुपैयाँ बचत फिर्ता गरिनेछ ।
त्यस्तै संघ मातहतका २२ सहकारीका ६२ हजार ७६० बचतकर्ताको ३९ अर्ब ९३ करोड ५६ लाख ६६ हजार ७१० रुपैयाँ अपचलन भएको दाबीसहित समितिमा निवेदन परेको छ ।






















