पर्सा। प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन बमोजिम भूमि व्यवस्था, सहकारी तथा गरिबी मन्त्रालयको प्रस्तावमा पर्साको पोखरीया नगरपालिकामा नापी तथा मालपोतको क्षेत्रीय कार्यालय स्थापना गर्ने मन्त्रिपरिषदले निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पर्सा जिल्लामा जनसंख्याको चाप , सेवाको अवस्था दूरी र समय लगायतका विषयलाई विश्लेषण गर्दै सेवा प्रवाहलाई छिटो, छरितो, प्रभावकारी र नागरिक मैत्री बनाई समयमै सेवा उपलब्ध गराउन उद्देश्यको साथ पोखरीया नगरपालिकामा तत्कालको लागि मालपोत तथा नापी कार्यालय स्थापना गरी सेवा संचालन गर्ने निर्णय गरेको छ ।
मन्त्री गुप्ताको सक्रिय पहलमा, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले मन्त्रिपरिषद् बैठकमा पोखरिया नगरपालिकामा नापी तथा मालपोत कार्यालयको क्षेत्रीय कार्यालय स्थापना गर्न प्रस्ताव पेस गरेका थिए ।
यो महत्वपूर्ण कदमले पोखरिया लगायत ग्रामीण भेगमा बसोबास गर्ने सम्पूर्ण गाउँवासीलाई सरकारी सेवामा सहज पहुँच पुर्याउन ठूलो सहयोग पुग्ने विश्वास गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको भनाइ छ । प्रस्तावमाथि मन्त्रिपरिषद् बैठकले छिट्टै निर्णय गर्दै कार्यालय सञ्चालनमा ल्याउने अपेक्षा रहेको उनले जानकारी गराए ।
समृद्धि र सेवा प्रवाहका लागि यो महत्वपूर्ण पहललाई सफल बनाउन सबैको साथ र सहयोग अपरिहार्य रहेको मन्त्री गुप्ताले बताएका छन् ।






















