काठमाडौं । मुक्तिनाथ विकास बैंकले अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गरी पूँजी वृद्धि गर्ने भएको छ। बैंकले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १ अर्बको मुक्तिनाथ ८.५ प्रतिशत अग्राधिकार शेयर जारी गर्ने भएको हो ।
अग्राधिकार शेयर जारीपश्चात बैंकको हाल कायम जारी तथा चुक्ता पूँजी ७ अर्ब ४ करोड ६९ लाख ३८ हजार रुपैयाँलाई वृद्धि गरी ८ अर्ब ४ करोड ६९ लाख ३८ हजार रुपैयाँ पुग्नेछ। बैंकको १८ औं वार्षिक साधारण सभा पुस २९ गते बस्नेछ । साधारण सभाले अग्राधिकार शेयर तथा अविमोच्य ऋणपत्र जारी गर्न प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने एजेण्डा पारित गर्नेछ ।
त्यस्तै कुनै बैंक तथा वित्तीय संस्था एक आपसमा प्राप्ति तथा समाहितका लागि उपयुक्त बैंकको पहिचान गर्ने, सहमतिपत्रमा हस्ताक्षर गर्ने, सोको आधारमा सैद्धान्तिक स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा निवेदन दिने, सम्पत्ति दायित्वको मूल्याङ्कन गर्न परामर्शदाता, मूल्याङ्कनकर्ता, लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने लगायत आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने साधारण सभाको एजेण्डा रहेको छ।






















