चितवन । आजदेखि दैनिक तीन घण्टा मुग्लिन काठमाडौं सडक बन्द हुने भएको छ । स्तरोन्नति र विभिन्न घुम्ती कटान गर्ने कार्यका लागि बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सडक बन्द गरिने नागढुंगा–मुग्लिन सडक आयोजनाले जनाएको छ ।
आयोजनाले एक सूचनामार्फत उक्त राजमार्ग भएर काठमाडौं जाने–आउने सवारीचालकलाई लेन अनुशासन पालना गरेर सवारी चलाउन पनि आग्रह गरेको छ । उक्त समयमा एम्बुलेन्स, प्रहरीका सवारी र दमकलजस्ता अत्यावश्यक सवारीसाधन संचालनमा भने कुनै रोकावट नहुने आयोजनाले जनाएको छ ।
नागढुङ्गा–मुग्लिन सडक योजना पश्चिम खण्डका अनुसार धादिङको गजुरी गाउँपालिका–५ मा पर्ने पोखरेखोला अगाडिको भिर मोड सुधारका लागि नौबिसेबाट गजुरीतर्फ जाने सवारीसाधन गल्छी–बैरेनीमा र हलुका सवारीसाधन जरेखेत भन्ने स्थानमा रोकिनेछन् ।
यसैगरी चितवनतर्फबाट नौबिसे जाने सवारीसाधन चालिसे र घाटबेशीमा रोकिनेछन् । विशालटार मोड सुधारका लागि मुग्लिनबाट मलेखु जाने सवारीसाधन मझिमटार र चरौंदी बजारमा रोकिनेछन् । सूचनाअनुसार पुस १३ गतेसम्म सडक यसरी बन्द हुनेछ ।






















