Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

एनपीएलमा कसले के पाए पुरस्कार ?

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं। पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जनकपुर बोल्ट्सले जितेको छ ।

खेलको आर्कषक पुरस्कारको रूपमा रहेको कार सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्र सिंह ऐरीले प्राप्त गरेका छन् । नेपाली क्रिकेट इतिहासमा खेल खेलेर कार पाउने कप्तान ऐरी पहिलो खेलाडी बनेका छन् । दीपेन्द्रले सर्वोत्कृष्ट नेपाली खेलाडी बन्दै ६२ लाख रुपैयाँ पर्ने ‘आमोडा एन्ड जेईको’ ईभी कार पुरस्कार प्राप्त गरेका हुन् ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा शनिबार भएको फाइनल खेलमा जनकपुरले सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले हराएर उपाधि जितेको हो । जितका लागि सुदूरपश्चिम रोयल्सले दिएको एक सय ८५ रनको लक्ष्य पछ्याएको जनकपुरले १९.२ ओभरमा पाँच विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो । यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ८४ रन बनाएको थियो । उपाधिसँगै जनकपुरले एक करोड १० लाख रुपैयाँ पुरस्कार पाएको छ । यो पुरस्कार नेपाली खेलकुदकै सर्वाधिक ठूलो धन राशीको पुरस्कार हो । यस्तै उपविजेतामा चित्त बुझाएको सुदूरपश्चिमले ५१ लाख रुपैयाँ प्राप्त गर्यो ।

प्लेअफमा पुगेको कर्णाली याक्स तेस्रो र चितवन राइनोज चौथो भयो । कर्णालीले २५ लाख र चितवनले १५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्यो ।

कार उपहार पाएका दीपेन्द्रले प्रतियोगिताभर कूल दुई सय २७ रन बनाएका थिए । टोलीलाई फाइनल यात्रासम्म लग्न ऐरिको महत्त्वपूर्ण भूमिका थियो । उनले बलिङतर्फ नौ विकेट लिएका थिए ।

यस्तै उत्कृष्ट बलर बन्दै विजेता टोलीका ललित राजवंशीले मोटर साइकल पुरस्कार हात पारे । ललितले प्रतियोगिताभर १७ विकेट लिएका थिए । एनपीएलको सर्वोत्कृष्ट खेलाडीको पुरस्कार सुदूरपश्चिम रोयल्सका सईफ जैवले प्राप्त गरे । उनले पाँच लाख रुपैयाँ हात पारे ।

यसैगरी कर्णाली याक्सका विपिन शर्मा ‘इमर्जिङ प्लेयर’ घोषित भए । उनलाई ५० हजार रुपैयाँ र एक लाख रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गरिएको थियो । ‘इनर्जेटिक प्लेयर अफ दि एनपीएल’ को उपाधि जनकपुरका जेम्स निसमले पाए । उनलाई दुई लाख रुपैयाँ प्रदान गरियो ।

सर्वाधिक चौका हान्ने खेलाडीको पुरस्कार लाहिरु मिलान्थालाई प्रदान गरियो । यस्तै एनपीएलको ‘फेयर प्ले अवार्ड’ लुम्बिनी लायन्सले प्राप्त गरेको छ। विजेता टोली र खेलाडीलाई पूर्व प्रधानमन्त्रीद्वय शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रमेश लेखक लगायतले पुरस्कार प्रदान गरेका थिए ।

मंसिर १५ गतेदेखि सुरु भएको एनपीएलमा कूल ३२ खेल भएका थिए । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको एनपीएलमा विभिन्न शहर र प्रदेशको प्रतिनिधित्व गर्ने आठ वटा फ्रेन्चाइज टोलीको सहभागिता रहेको थियो । जसमा काठमाडौं गोर्खाज, विराटनगर किङ्ग्स, पोखरा एभेन्जर्स र लुम्बिनी लायन्स लिग चरणबाट बाहिरिएका थिए ।

Health Tips Ad Road Block