काठमाडौं । पर्यटकीय सुन्दर नगरी पर्यटनको राजधानी पोखराको लेकसाइड क्षेत्रमा पुस १३ देखि सडक महोत्सव हुँदैछ । विगत २५ वर्ष देखि निरन्तर रेष्टुरेण्ट एण्ड बार एशोसियशन (रेवान) पोखराले अङ्ग्रेजी नयाँ वर्षको स्वागतार्थ सडक महोत्सवको आयोजना गर्दै आएको हो र यसलाई निरन्तरता दिइँदैछ । यो महोत्सव २६ औं संस्करण हो ।
आन्तरिक तथा बाह्य पर्यटकलाई अङ्ग्रेजी नयाँ वर्षको गन्तव्य स्थलको रुपमा प्रवर्द्धन गर्ने उद्देश्यले पुस १३ गतेदेखि १७ गतेसम्म पोखराको लेकसाइड क्षेत्रको करिब ३ किलोमिटर क्षेत्रमा महोत्सव हुने आयोजकले काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । ‘सडकमै खाउँ, सडकमै नाची सडक मै रमाउँ’ भन्ने उद्देश्यका साथ आयोजना हुने महोत्सवले एउटा गर्विलो इतिहास बोकेको पोखरा रेवानका अध्यक्ष विश्व पौडेलले बताए । परिवर्तित समय सँगै महोत्सवलाई अलि पृथक र थप आर्कषक कसरी बनाउन सकिन्छ भनेर विभिन्न सरोकारवालाहरुको सल्लाह सुझावहरु पनि ग्रहण गरिरहेका मेला संयोजक विकास भट्टराईले जानकारी दिएका छन् ।
कला र संस्कृति प्रवर्द्धन गर्न, स्थानीय स्तरमा उत्पादित सामग्रीलाई बजारीकरण र त्यसको प्रचार प्रसार तथा ब्राण्डिङ गराउने एउटै थलो पोखरा सडक महोत्सवले पर्यटक आकर्षण गर्न होस् वा लोपोन्मुख सामग्रीलाई संरक्षण गर्न प्लेटफर्म पनि दिँदै आएको पोखरा रेवानका महासचिव विरेन्द्र शेरचनले बताए । समग्रमा सडक महोत्सव स्थानीयस्तरमा आर्थिक गतिविधि चलायमान, विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना गर्ने गतिलो माध्यम बनेको पोखरा रेवानको धारणा छ ।
पत्रकार सम्मेलनमा रेवानका केन्दीय अध्यक्ष संघर्ष विष्टले सातै प्रदेशमा यस किसिमका महोत्सव आयोजना गरी अर्थतन्त्र चलायनमान गराउन आफूहरुले योजना अगाडि बढाइरहेको बताए । उनले काठमाडौंको ठमेल आसपासमा दुई दिने सडक महोत्सवको तयारीका लागि पनि पालिकासँग समन्वय गरिरहेको जानकारी दिए । सरकारले आवश्यक सहयोग गर्नुपर्ने उनको माग रहेको छ ।
‘पोखरामा सडक महोत्सव आयोजना गर्नुअघि अंग्रेजी नयाँ बर्ष मनाउन धेरै नेपाली नागरिक पनि विदेश जाने चलन थियो । नेपालमा आकर्षक कार्यक्रम नहुँदा विदेशी पर्यटक पनि नेपाल छाडेर घर फर्कन्थे। तर विगत २५ वर्ष देखिको निरन्तरताले अब नेपालीलाई मात्र नभएर विदेशीलाई पनि नयाँ वर्ष पोखरामा मनाउने वातावरण सृजना गराएको छ । यहि महोत्सवका कारण पोखरामा आन्तरिक र बाह्य पर्यटकको आगमन निकै बढेको छ ।’ रेवान पोखराले विज्ञप्तिमार्फत जनाएको छ ।
महोत्सवमा मुख्य आर्कषणको रुपमा विभिन्न जातजातीका लोपउन्मुख साँस्कृतिक कार्यक्रम, मौलिक भेषभुषा प्रर्दशन, झाँकी प्रदर्शन प्रतियोगिता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, लाइभ कन्सर्ट, खेलकुद तर्फ बोट रेस, वेटर रेस, टंग अफ वार, मःम, ससेज खाने प्रतियोगिता, सचेतनामुलक सडक नाटक, सेल्फी फोटो वुच, पोखराको पर्यटन विकास, प्रवर्द्धन, अवसर तथा चुनौतीहरुको विषयमा केन्द्रिकृत गरी टक सो कार्यक्रम, पोखरा सेरोफेरोको स्थानीय उत्पादीत हस्तकला, चित्रकला, मुर्तिकला तथा कृषि, वनस्पति लगायतका कृषि उपजहरुलाई प्राथमिकता साथ प्रदर्शनीको व्यवस्था गरिने र पोखराका विभिन्न साहसिक खेलकुदहरुको डकुमेन्टी प्रर्दशनका साथै पर्यटकीय गन्तब्यको प्रवर्द्धन, महोत्सव क्षेत्रमा सञ्चालन गर्दै आएका व्यवसायीहरुले सडक महोत्सवको अवधारणा अनुरुप सोही व्यवसाय निर्धारित पसल अगाडि ल्याई सजावटका साथ व्यवसाय प्रवर्द्धन गरिने आयोजकले जनाएको छ ।
महोत्सवको मुख्य प्रायोजकमा गोर्खा बुअरी प्रालिको टुबोर्ग वियर र सह प्रायोजकमा ज्याक डिनयल हिस्की, पेप्सी, नेपाल टेलिकम, जिंक, खुकुरी रम रहेको छ । प्रवर्द्धकमा नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार र पोखरा पर्यटन परिषद् रहेका छन्। अफिसियल बैंकमा सिद्धार्थ बैंक रहेको छ ।






















