काठमाडौं । चार दिनदेखि नेपाली बजारमा डलरको मूल्यले रेकर्ड बनाइरहेको छ । पुस दुई गतेदेखि योक्रम जारी रहेको हो ।
नेपाल राष्ट्र बैंकले आज (पुस ५ गते) का लागि डलरको बिक्रीदर १३६ रुपैयाँ ४२ पैसा र खरिददर १३५ रुपैयाँ ८२ पैसा निर्धारण गरेको छ । हिजो अर्थात् पुस ४ गते १३६ रुपैयाँ २३ पैसा र खरिददर १३५ रुपैयाँ ६३ पैसामा डलर मूल्यले रेकर्ड बनाएको थियो।
पुस ३ गतेका लागि नेपाल राष्ट्र बैंकले डलरको बिक्रीदर १३६ रुपैयाँ १४ पैसा तोकेको थियो भने खरिददर १३५ रुपैयाँ ५४ पैसा रहेको थियो । पुस २ गते मंगलबार डलरको बिक्रीदर १३६ रुपैयाँ ९ पैसा र खरिददर १३५ रुपैयाँ ४९ पैसा रहेको थियो ।
यसको अर्थ अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ कमजोर भएको हो ।
डलरको मूल्य बढ्दा विदेशमा काम गर्ने नेपालीले पठाउने रेमिट्यान्स आम्दानी बढ्ने हुन्छ । किनकि डलरमा पठाएको रेमिट्यान्सको नेपालमा धेरै पैसा आउँछ । पर्यटन आम्दानीमा वृद्धि हुनेछ । निर्यात गर्ने आम्दानीमा पनि लाभ लिन सकिनेछ ।
अर्कोतिर नेपाल आयातमा आधारित मुलुक भएकाले डलरको भाउ बढ्दा आयातित वस्तु तथा सामानको मूल्य भने बढ्न पुग्छ । यसले बजार महँगीलाई थप बढ्ने बाटोतर्फ अगाडि बढाउनेछ र बजार महँगी हुन सक्नेछ । आयात महँगो पर्न जाँदा विदेशी मुद्रा संचितिमा चाप पर्न सक्दछ ।
डलरको मूल्य बढेपछि नेपालले डलरमा तिर्नुपर्ने सावाँ र ब्याज बढ्न पनि जाने हुँदा नेपाललाई थप आर्थिक भार पर्न सक्दछ । त्यसैले नेपाललाई डलरको भाउ बढ्दा बेफाइदा बढी हुने विश्लेषकहरु बताउँछन् ।






















