Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

सिंहदरबार वैद्यखानामा एक्कासी मन्त्रीको छड्के–औषधिको उत्पादन बढाएर तलब खानुस्, सरकारको मुख नताक्नुस् (भिडियोसहित)

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सिंहदरबार वैद्यखानामा आयुर्वेदिक औषधि उत्पादनको अवस्थाबारे अनुगमन गरेका छन् । मन्त्री पौडेलले वैद्यखाना सुधारका लागि विशेष चासो दिंदै आएका छन् । सोहीअनुरुप विकास समितिमा नयाँ नेतृत्वलाई जिम्मेवारी दिएका मन्त्री पौडेलले सोचजस्तो उत्पादन वृद्धि नभए पछि स्थलगत अनुगमन गर्दै समस्या समाधानका लागि उपायको खोजी थालेका हुन् ।

मन्त्रालयका उच्च अधिकारीसहित अनुगमनमा गएका मन्त्री पौडेलले वैद्यखानाको काम कारबाहीबारे जानकारी लिंदै आमरुपमा सुनिएका गुनासा समाधान गर्न समेत कर्मचारीहरुको ध्यानाकर्षण गराए ।

पर्याप्त औषधि उत्पादन नभएकोबारे गुनासो सुनेपछि मन्त्री पौडेलले उत्पादन बढाउन हरसम्भव उपाय लगाउन आग्रह गरे ।

‘बजारमा जति औषधि उत्पादन भएपनि वैद्यखानाको औषधि बिक्री हुने रहेछ,’ उनले भने, ‘तपाईंहरुले उत्पादन बढाउने काममा देखिने गरी परिवर्तन ल्याउनुपर्छ ।’

मन्त्री पौडेललाई कर्मचारीहरुले श्रोत अभाव भएको गुनासो गरेपछि मन्त्री पौडेलले केही समयअघि पनि वैद्यखानाका लागि बजेट गएको प्रसंग निकाल्दै सार्वजनिक संस्थानहरुलाई पुँजीगत सहयोग गर्न सकिने तर तलब ख्वाउनका लागि सरकारले रकम दिन नसक्ने प्रष्ट पारे ।

‘तपाईंहरुको पुँजीगत क्षमता विकासका लागि के चाहिन्छ भन्नुस्,हामी सघाउँछौं,’ मन्त्री पौडेलले भने, ‘तर उत्पादन नबढाउने अनि सरकारसँग पैसा मागेर तलब र उपादान दिन सकिन्न।’

मन्त्री पौडेलले बजारमा सिंहदरबार वैद्यखानाको औषधि किन्न खोज्दासमेत नपाइने अवस्था आएको भन्दै पर्याप्त कच्चापदार्थ उपलब्ध नगराउने ठेकेदारलाई कालोसूचीमा राखेर नयाँ विकल्प खोज्न भने ।

‘प्रधानमन्त्रीज्यूको पनि वैद्यखानाले उत्पादन बढाओस् भन्ने चासो छ,’ मन्त्री पौडेलले भने, ‘बजारमा जति उत्पादन गरे पनि बिक्ने चिज पनि हामी किन बेच्न सक्दैनौं ?’

मन्त्री पौडेलले तीन दिनभित्र समस्या समाधानका साथ उत्पादन बढाउने योजना ल्याउन पदाधिकारीलाई आग्रह गर्दै भने, ‘उत्पादन बढाउने योजनामा बजेट अभाव हुन दिन्नौं ।’

हेर्नुहोस् भिडियो

Health Tips Ad Road Block