काठमाडौं । बजारमा पेट्रोल डिजेल/मट्टितेल र ग्यासको मूल्यमा भारी कटौती भएको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी कटौती गरेको हो । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेर आएसँगै निगमको सञ्चालक समिति बैठकले पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य घटाएको हो ।
निगमले पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ , डिजेल र मट्टितेल प्रतिलिटर ३० रुपैयाँ, हवाई इन्धन (आन्तरिक)ः प्रतिलिटर ४० रुपैयाँ, खाना पकाउने एलपी ग्यासः प्रतिसिलिन्डर १०० रुपैयाँले मूल्य घटाएको हो ।
घटेको मूल्य आज बिहानदेखि लागु भएको छ ।
पेट्रोल र डिजेलको मूल्यमा भएको यो भारी कटौतीले सार्वजनिक यातायातको भाडा दर र ढुवानी लागत कम गर्न सहयोग पुग्ने विश्वास गरिएको छ । यसले समग्र बजारको महँगी नियन्त्रण गर्न सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।
याँ मूल्यसूचीअनुसार तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायलमा अब पेट्रोलको मूल्य प्रतिलिटर १९७ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १९५ रुपैयाँ कायम भएको छ । यसअघि यी क्षेत्रमा पेट्रोल प्रतिलिटर २१७ र डिजेल प्रतिलिटर २२५ रुपैयाँ रहेको थियो ।
यसैगरी, पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज, धनगढी र वीरगन्जमा पेट्रोल प्रतिलिटर १९४.५० र डिजेल प्रतिलिटर १९२.५० रुपैयाँ कायम गरिएको छ । दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १९६ र डिजेलको मूल्य १९४ रुपैयाँ तोकिएको छ ।
हवाई इन्धन (आन्तरिक) को नयाँ मूल्य प्रतिलिटर २२९ रुपैयाँ कायम भएको छ । यस्तै, अन्तरराष्ट्रिय हवाई इन्धनको मूल्य काठमाडौँका लागि अमेरिकी डलर १,५६६, पोखराका लागि डलर एक हजार १०० र भैरहवाका लागि डलर एक हजार ०८५ प्रतिकिलोलिटर कायम गरिएको छ ।
मूल्य कटौती भएसँगै उपभोक्ताले खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर (१४.२ किलोग्राम) अब दुई हजार ०६० रुपैयाँमा प्राप्त गर्नेछन् । यसअघि ग्यासको मूल्य प्रतिसिलिन्डर रु दुई हजार १६० रहेको थियो ।





















