काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन क्षेत्रको विषयगत समिति बैठकले कर्णाली, गण्डकी र कोशी नदी सभ्यतामा आधारित सांस्कृतिक पर्यटन विकासका लागि अवधारणा तयार गर्न संयन्त्र निर्माण गर्ने निर्णय गरेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेको अध्यक्षतामा बर्दियाको ठाकुरबाबामा बसेको बैठकले तीन तहका सरकारको प्रतिनिधित्व हुने गरी संयन्त्र निर्माण गर्ने निर्णय गर्दै एक महिना भित्र कार्ययोजना तयार गर्ने निर्णय गरेको छ । संयन्त्रमा पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)का पर्यटन विद, संकृतिविद् एक एकजना, इन्जिनियरिङ अध्ययन संस्थानको आर्किटेक्चर विभाग प्रमुख एकजना र निजी र ठूला लगानीकर्ता मध्येका एकजना प्रतिनिधि रहने छन् ।
बैठकले देशभर मठमन्दिर निर्माणमा हुने गरेको अव्यवस्थालाई मध्य जर गर्दै मठमन्दिर निर्माण गर्दा फलाम, सिमेन्ट र कंक्रिट, जस्तापाताको सट्टा स्थानीय निर्माण सामाग्री जस्तै काठ, माटो आदि प्रयोग गरिएको हुनुपर्ने र स्थानीय बासिन्दा र समुदायको सहभागीता मुलक न्युनतम योगदान सुनिश्चित हुनुपर्ने निर्णय गरेको छ ।
यस्तै प्रमुख नाकाहरुको नेपालतर्फका जोडिएका पालिका, प्रदेश, संघ सहित स्थानीय व्यवसायिक संघ र समुदायको संयुक्त आयोजनामा फाल्गुनमा खाद्य तथा सांस्कृतिक महोत्सव आयोजना गर्ने त्यसमा भारत तर्फका नजिकका जिल्ला, संघसंस्थालाई आमन्त्रण गर्ने निर्णय गरेको छ ।
बैठकले भारत र चीनका प्रत्येक प्रदेशका विधान सभाका ४० वर्ष मुनिका विधानसभा सदस्यको प्रतिनिधित्व हुने गरी फाल्गुनमा एक हप्ताको सम्पदा यात्रा आयोजना गर्ने निर्णय गरेको छ । हरेक प्रदेशका दुई–दुई वटा विद्यालय छनौट गरी नमुना संस्कृति तथा पर्यटन क्लब वा संस्कृति क्लब गठनका लागि कार्यविधी तयार गर्ने निर्णय गरेको छ।
यस्तै पदमार्ग निर्माण मापदण्ड, २०८१ लाई हरेक प्रदेशले आन्तरिकीकरण गर्ने निर्णय भएको छ भने पर्यटन दशक कार्ययोजनाका बारेमा समेत बैठकमा छलफल भएको थियो ।






















