काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरुका लागि अहिले रिकभरीमा निकै ठूलो चुनौती रहेको बताएका छन् । नेपाल बैंकर्स संघको ३८ औं वार्षिक साधारणसभाको अवसरमा गभर्नर अधिकारीले यस्तो बताएका हुन् । गभर्नर अधिकारीले भने, ‘हामीले दुःख मान्नुपर्ने धेरै अवस्था छैन। बाधा चुनौती छन् । बैंकहरुका लागि अहिले रिकभरीमा निकै ठूलो चुनौती छ । बैंकहरुका लागि साइबर सेक्युरिटी रिलेटेड जोखिम हामीकहाँ छ ।’ उनले थप्दै भने, ‘बैंकिङ प्रणालीमा बाह्य थ्रेट केही वर्षदेखि आयो । ऋण नतिरेपनि हुन्छ भन्ने अराजक गतिबिधि सिर्जना भएको र बैंकर्स साथीहरुलाई अनावश्यक थ्रिएटन आउँदा मनोवैज्ञानिक असर परेको छ । त्यसैगरी बैंकरले कहीँ कतै नाफा कमाउन नहुने हो कि भन्ने कुराहरु पनि आएका छन् । आर्थिक स्थायीत्वका लागि न्यूनत्तम मुनाफा बैंकहरुका लागि आवश्यक हुन्छ ।’
गभर्नर अधिकारीले नेपालको बैंकिङ क्षेत्र अन्य क्षेत्रहरु भन्दा धेरै नै पारदर्शी रहेको धारणा राख्दै राष्ट्र बैंकले ल्याउने कुनै पनि सुधारका नीतिहरु नेपालको बैंकिङ क्षेत्रलाईअप्ठ्यारो बनाउन नभई यो क्षेत्रलाई सबल बनाउने दिशामा नै केन्द्रित हुने बताए । नेपालको बैंकिङ क्षेत्रमा प्रशस्त चुनौतीहरु भएपनि ती चुनौतीहरुलाई सामना गर्न नेपालको बैंकिङ क्षेत्र सक्षम रहेको उनको धारणा थियो । त्यसका साथै वर्तमान अवस्थामा नेपालको बैंकिङ क्षेत्रमा केही असहज अवस्था भएपनि आउँदा दिनहरु राम्रो हुने बताउँदै सबै बैंकरहरुलाई निराश नभइकन सकारात्मक सोचका साथ अगाडि बढ्न आग्रह गरेका छन् ।
कार्यक्रममा स्वागत मन्तब्य राख्दै संघका निवर्तमान अध्यक्ष सुनिल केसीले वर्तमान बैंकिङ अवस्थाबारे तथ्याँक प्रस्तुत गरेर नेपालको बैंकिङ क्षेत्र दक्षिण एसियामै उत्कृष्ट रहेको दाबी गरे । उनले खराब कर्जाको अवस्था ४ प्रतिशतभन्दा बढी भएको विषय, बैंकिङ क्षेत्रमा ७०० अर्बको फण्ड जम्मा भएको, तरलता कहिले बढी त कहिले कम हुने, निजी क्षेत्रको कन्फिडेन्स घटेको, कर्मचारीले बैंक छाडेर विदेशिने क्रम बढेको लगायतका विषयले सजग हुनुपर्ने अवस्था आएको भनाइ राखे ।

कार्यक्रममा इन्टरनेशनल फाइनान्स कर्पाेरेशन (आइएफसी) कि रिजनल इकोनोमिष्ट फर साउथ एसीया कमलिका दासले वर्तमान विश्व अर्थव्यवस्थाबारे जानकारी दिँदै विश्व अर्थव्यवस्थामा देखिएका मुख्य चुनौतिहरु र त्यसका समाधानका उपाय बारेमा आफ्नो प्रस्तुति दिएकी थिइन् । उनले दक्षिण एसियाली राष्ट्रको आर्थिक वृद्धि अन्य देशभन्दा तुलनात्मक रुपमा राम्रो देखिएको बताइन् । यसको लागि यो क्षेत्रमा प्रवाह हुने विप्रेषणले निजी उपभोग बढाएको र अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुर्याएको उनको धारणा थियो ।
कार्यक्रममा सबैलाई धन्यवाद ज्ञापन गर्दै संघका नवनिर्वाचित अध्यक्ष सन्तोष कोइरालाले रिकभरी, एनपीए, डिभिडेन्ट समस्या लगायत विषय उठान भइरहेको भन्दै सबै समस्याहरुलाई चिरेर अगाडि बढ्नुपर्ने अवस्था रहेको बताए । कोइरालाले नेपाल राष्ट्र बैंकबाट पछिल्ला समयमा भएका नीति र मार्गदर्शनको परिमार्जनले बैंकिङ उद्योगलाई दक्षिण एसियामै सबल बनाउन मद्दत गरेको धारणा राखे । यसका लागि केन्द्रिय बैंक धन्यवादको पात्र रहेको र अहिले पनि भित्रिरुपमा नेपालको बैंकिङ उद्योग राम्रो अवस्थामा रहेको उनको दाबी छ ।

संघको वार्षिक साधारणसभाको अवसरमा प्रत्येक वर्ष बैंकिङ्ग क्षेत्रमा उल्लेखनीय योगदान दिने व्यक्तित्वलाई सम्मान गर्ने परम्परालाई निरन्तरता दिंदै यस वर्ष राजन सिंह भण्डारीलाई सम्मान–पत्र प्रदान गरिएको थियो । भण्डारीले सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको अध्यक्ष, नेपाल बैंकर्स संघको अध्यक्ष, नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक लगायत अन्य विभिन्न स्थानमा रहेर आर्थिक, मौद्रिक, बैंकिङ्ग तथा वित्तीय क्षेत्रको विकास र सुधार कार्यक्रमलाई अगाडि बढाउन र समन्वय गर्नका लागि योगदान पुर्याएका छन् ।

त्यसैगरी गएको एक वर्षमा बैंकिङ्ग क्षेत्रबाट बिदा भएका रत्नराज बज्राचार्य र किरण कुमार श्रेष्ठलाई उनीहरूको योगदानको कदरस्वरुप सम्मान पत्र प्रदान गरिएको थियो ।























