Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौता, यस्ता छन् नेपालले पाउने फाइदा !

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौता भएको छ । नेपालबाट राँगाभैंसीको मासु निर्यातका लागि नेपाली कम्पनी हिमालयन फुड इन्टरनेशनल प्रालि र चीनको संघाइ जि याङ फूड कर्पोरेसनबीच सोमबार सम्झौता भएको हो।

यस अन्तर्गत चीन–नेपाल सम्बन्धलाई सुदृढ बनाउने, द्विपक्षीय सहयोगलाई प्रवद्र्धन गर्ने, व्यापार प्रवद्र्धन गर्ने र ट्रान्स हिमालयन कनेक्टिभिटी नेटवर्क निर्माण गर्ने चिनियाँ राष्ट्रपति सी जिनपिङ र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको भिजनलाई कार्यान्वयन गर्न हिमालयन फूड इन्टरनेशनल प्राइभेटले नेतृत्व गरेको आयोजनामा २ सय मिलियन डलर लगानी गर्ने योजना रहेको छ ।

त्यस्तै प्रजनन, बध, प्रशोधन र व्यापारसहित दक्षिण एशियाको सबैभन्दा उन्नत राँगाभैंसीको मासु उद्योग सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ । यो परियोजना कार्यान्वयनमा आएपछि नेपाललाई महत्त्वपूर्ण आर्थिक र सामाजिक फाइदाहरू प्रदान गर्ने सो अवसरमा दाबी गरिएको थियो । त्यसैगरी परियोजनाले नेपाली अर्थतन्त्रलाई बढावा दिनुका साथै व्यापार असन्तुलन घटाउने र वार्षिक रूपमा १.५ बिलियन डलर विदेशी मुद्रा आम्दानी हुने अपेक्षा गरिएको छ। यो मोडलको फर्मिङबाट २ लाख किसान परिवारले औसतमा ७ हजार डलर आम्दानी लिएर लाभान्वित हुनसक्ने दाबी पनि गरिएको छ । परियोजनामार्फत प्रत्यक्षरूपमा १०,००० रोजगारी सिर्जना गर्ने र सम्बन्धित उद्योगहरूमार्फत करिब १० लाख मानिसहरूलाई अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्झौता कार्यक्रममा जानकारी दिइएको थियो ।

परियोजनाले नेपालमा राँगाभैंसीको मासु उत्पादन  र यस उद्योगको विकासमा वृद्धि गर्नुका साथै नेपाल–चीनबीच आर्थिक र सांस्कृतिक सम्बन्धलाई सुदृढ पार्ने र दुवै देशका लागि पारस्परिक लाभ लिने नयाँ युगको सुरुवात भएको द्धिपक्षीय दाबी छ ।

सम्झौता कार्यक्रममा कृषि तथा पशुपन्क्षी विकास मन्त्री रामनाथ अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीको मंसिर तेस्रो साता चीन भ्रमणका क्रममा नेपाल र चीनबीच राँगाको मासु निर्यात गर्ने सम्बन्धी प्रोटोकल सम्झौता सम्पन्न भएको र यो नेपाल चीनबीच पशुजन्य उत्पादनको व्यापार सहजीकरणका लागि कोशेढुङ्गाको रुपमा रहेको उल्लेख गरे । सम्झौताले नेपाली किसानलाई राँगाभैँसी पालनका लागि थप प्रोत्साहित गरेको उनको भनाइ थियो । नेपालको हावापानी र विविध भौगोलिक बनोट पशुपालनका लागि उत्कृष्ट रहेको दाबी गर्दै मन्त्री अधिकारीले यो हावापानीमा उत्पादन गर्ने नेपालको मौलिक उत्पादनको मात्रा धेरै नहुने भए तापनि यसको महत्व अत्यन्त ठूलो रहेको बताए । नेपालको हिमाली तथा पहाडी क्षेत्रमा पाइने जडीबुटी तथा ‌औषधिजन्य घाँसपात खाएर हुर्किएका पशुवस्तुको दूध तथा मासुबाट पौष्टिक तथा औषधिजन्य फाइदा पाइने धेरैको विश्वास रहेको भन्दै उनले थप चर्चा गरेका थिए ।

मन्त्री अधिकारीले पशुजन्य उत्पादनको गुणस्तर सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको समेत बताएका थिए । नेपालबाट चीनले मासु आयात गर्नका लागि प्रतिबद्ध रहेको जनाएको छ । कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी, विभिन्न मन्त्रालयका सचिवहरु, नेपालका लागि चिनियाँ राजदूत चेन सोङ लगायतको उपस्थिति रहेको थियो ।

Health Tips Ad Road Block