काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिनामा अर्थमन्त्री विष्णु प्रसाद पौडेल आफ्नो अर्थ मन्त्रालयको जिम्मेवारीमा कमजोर देखिएका छन् । विकास खर्च र राजश्व परिचालनमा अर्थमन्त्री कमजोर देखिएका हुन् ।
चालु आर्थिक वर्षको सुरुवाती पाँच महिनामा सरकारले २८.१५ प्रतिशत राजश्व संकलन गरेको छ । मंसिरसम्ममा सरकारले ३ खर्ब ९९ अर्ब ५९ करोड राजश्व संकलन गरेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
विकास खर्च हुन नसकेको र राजश्व संकलन गर्न नसकेको भन्दै विगतदेखि नै आलोचना हुँदै आएपनि अर्थमन्त्री पौडेलले पनि यस्तो आलोचनालाई मत्थर पार्ने काम गर्न सकेनन् ।
चालु आर्थिक वर्षका लागि तीन खर्ब ५२ अर्ब ३५ करोड ४० लाखको पुँजीगत बजेट अर्थात् विकास खर्च छुट्याइएपनि पाँच महिनामा ११ दशमलव ५८ प्रतिशत अर्थात् ४० अर्ब ८० करोड छ लाख मात्रै खर्च भएको छ ।
यो वर्षको पाँच महिनामा सरकारले अनुदानमार्फत एक सुको पनि उठाउन सकेको छैन । तथ्याँकले सरकारलाई नपत्याएको देखाएको छ । यो वर्ष सरकारले ५२ अर्ब ३२ करोढ ६५ लाख अनुदानको लक्ष्य राखेको थियो ।
सरकारको चालु खर्च ३१ दशमलव ८७ प्रतिशत रहेको छ । सरकारको तर्फबाट ११ खर्ब ४० अर्ब ६६ करोड ४५ लाख विनियोजन भएकोमा हालसम्म तीन खर्ब ६३ अर्ब ५५ करोड १४ लाख रुपैयाँ बराबरको चालु खर्च भएको छ । वित्तीय व्यवस्थातर्फ लक्ष्यको ४१ दशमलव ३२ प्रतिशत खर्च भएको देखिएको छ ।






















