काठमाडौं । ज्योति समूह विधिवतरुपमा पद्म ज्योति समूहमा रुपान्तरण भएको छ । आइतबार एक कार्यक्रम गरी विकास र सृजनशीलताको नयाँ यात्राको सुरुवात भएको भन्दै नयाँ पद्म ज्योति समूह घोषणा गरिएको हो । घरायासी विवादका कारण समूहले नयाँ बाटो रोजेको आइतबार जानकारी दिइएको हो ।
धेरै बाधा र चुनौतीहरू पार गरेता पनि समूह आफ्नो उत्कृष्टताको विरासतमा प्रतिबद्ध रहँदै निरन्तर अघि बढिरहेको जनाइएको छ । सो अवसरमा पद्म ज्योति ग्रुपले गुणस्तरका लागि परिचित आफ्ना विश्वसनीय ब्रान्डहरूसँगै भविष्यलाई आकार दिन नयाँ योजना र रणनीतिहरू ल्याइरहेको पनि जनाएको छ । त्यस्तै ज्योति समूहबाट पद्म ज्योति समूहमा परिवर्तन हुनुले प्रगति, अनुकूलनता र नयाँ अवसरहरूको खोजीमा आफूहरुको समर्पण भनेर उल्लेख गरिएको छ ।
पद्म ज्योति समूहले यसलाई विकास र सृजनशीलताको लागि नयाँ अवसरहरू खोज्दै अगाडि बढ्ने सुरुवात भनेको छ । त्यस्तै समूहले ग्राहकहरूले अपेक्षा गरेको उच्च गुणस्तर कायम राख्न संधै प्रतिबद्ध रहेको जनाएको छ । ‘दूरदर्शी लिडरहरू पद्म ज्योति, सौरभ ज्योति, सृजना शाक्य ज्योति, सुह्रिद ज्योति र आरती ज्योतिको मार्गदर्शनमा हामी यो नयाँ अध्याय सुरु गर्न पाउँदा निकै उत्साहित छौं । साथै उज्जवल र गतिशील भविष्यतर्फ अघि बढ्न तपाईंहरूको निरन्तर सहयोगका लागि आभार प्रकट गर्दछौँ ।’ समूहले उल्लेख गरेको छ ।

उक्त घोषणा कार्यक्रममा समूहका अध्यक्ष पद्म ज्योतिले नयाँ र पुराना पुस्तालाई मिलाएर उद्यमशिलताको विकाससँगै इमान्दारिताका साथ मुलुकको सेवामा लागिरहने प्रतिबद्धता जनाएका छन् । उनले पारिवारिक समूह नेपालमा मात्रै नभएर विश्वमा पनि फुट्ने गरेको चर्चा गर्दै पारिवारिक विवाद बढेपछि ५ वर्षअघि नै पारिवारिक विधान बनाएको जानकारी गराए । आफ्ना बाबुको विरासतलाई आत्मसाथ गर्दै नयाँ अध्याय सुरु गरेको उनले जानकारी दिए ।
त्यस्तै समूहका निर्देशक सौरभ ज्योतिले हजुरबुवाको तीनवटा मन्त्र स्मरण गर्दै समाज र राष्ट्रको सकारात्मक परिवर्तन, रोजगारी सिर्जना र उद्यमशिलता एवं उत्पादनमा समूह सक्रिय भएर लागिपर्ने बताएका छन् ।

यो समूहमा हिमाल स्टिल, हिमाल सिमेन्ट, हिमाल अक्सिजन तथा हिमाल वायर्स, ज्योति स्पिनिङ मिल्स, भाजुरत्न फार्मास्युटिकल्स, भाजुरत्न इन्जिनियरिङ एन्ड सेल्स, होन्डा मोटरसाइकल लगायत छन् ।





















