काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले सिमेण्टको मूल्यवृद्धि तत्काल खारेज गर्न माग गरेको छ । सिमेण्ट लगायतका निर्माण सामग्री उत्पादनसँग सम्बन्धित इन्धनसहित कुनै पनि कच्चा पदार्थमा मूल्यवृद्धि नहुँदा पनि कार्टेलिङ गरी विगत एक महिनाको अवधिमा नै पटक–पटक गरी सिमेण्टमा प्रति बोरा १ सय रुपैयाँभन्दा बढी मूल्यवृद्धि गरिएकोमा आपत्ति जनाउँदै महासंघले उक्त माग गरेको हो ।
निर्माण कार्य हुने सिजनमा सिमित सिमेण्ट उद्योगीहरूले मूल्यवृद्धिसँगै कार्टेलिङ गरी उत्पादनमा समेत कटौती गरेकाले भुक्तानी अभाव लगायतका कारण सकसमा रहेको निर्माण उद्योग थप मारमा परेको महासंघको ठहर छ । खुल्ला बजार अर्थतन्त्रको नीति विपरित सिमेण्टमा गरिएको यस किसिमको अव्यवहारिक एवं अवैज्ञानिक मूल्यवृद्धि दण्डनीय अपराध भएको महासंघको ठम्याई छ ।
विगतमा पनि पटक–पटक भएका यस किसिमका मूल्यवृद्धिका कारण अन्ततः पूर्वाधार खर्च बढ्न गई नेपाल सरकारका सार्वजनिक निकायहरूलाई नै आर्थिक बोझ थपिएको महासंघले जनाएको छ । निर्माण व्यवसायीहरूको अरवौं भुक्तानी नहुँदा निर्माण उद्योग नै धराशायी भएको बेलामा सिमेण्ट लगायतका निर्माण सामग्रीमा भएको मूल्यवृद्धि अविलम्ब खारेज गरी आम उपभोक्तालाई राहत दिन महासंघले नेपाल सरकार र सम्बन्धीत निकाय समक्ष माग गरेको छ ।
मूल्यवृद्धि खारेज नभए देशभरका निर्माण कार्य ठप्प पारी कन्स्ट्रक्सन होलिडे आह्वान गर्न वाध्य हुने पनि महासंघले विज्ञप्तिमार्फत चेतावनी दिएको छ ।






















