ev scooty luyuan nepal baishak 2082 15

skip this News Page Tips Ad Road Block

वायु प्रदुषण बढ्यो–ठोस र प्लाष्टिकजन्य फोहर नजलाऔँ

काठमाडौं । काठमाडौं लगायत देशभर वायू प्रदूषण बढेपछि सरकारले ठोस र प्लाष्टिकजन्य फोहर नजलाउन आग्रह गरेको छ ।
वातावरण विभागले एक सूचना जारी गर्दै मंसिरदेखि जेठ महिनासम्ममा वायु प्रदूषण उच्च हुने भएकाले उक्त आग्रह गरेको हो । ‘वायु प्रदूषणले मानव स्वास्थ्यमा नकारात्मक असर पार्ने र विशेष गरी बालबालिका, वृद्धवृद्धा एवं श्वासप्रश्वास र मुटुका बिरामी, गर्भवती महिलाहरूलाई बढी प्रभाव पार्ने भएकोले यस्तो बेला विशेष सावधानी अपनाउनुहुन अनुरोध छ । तसर्थ वायु प्रदूषण नियन्त्रण तथा न्यूनीकरण गर्न ठोस तथा प्लास्टिकजन्य फोहोर तथा कृषिजन्य अवशेषहरू नजलाउन अनुरोध छ।’ विभागले भनेको छ ।

नेपालमा विशेषगरी मङ्सिरदेखि जेठ महिनासम्म वायु प्रदूषण उच्च हुने गरेको पाइन्छ । विगत केही हप्तादेखि नेपालको तराई क्षेत्र लगायत काठमाडौं उपत्यकामा वायु प्रदूषण बढेको पाइएको छ । वायु प्रदूषणको मुख्य कारक उद्योग कलकारखाना र सवारी साधनबाट निष्कासन हुने धूवाँ, वन डढेलो, खुला रूपमा फोहोर तथा कृषिजन्य अवशेष जलाउने, घरबाट निस्कने धूवाँ, सडक तथा निर्माण कार्यहरूबाट उड्ने धूलो आदि रहेका छन् । वायु गुणस्तर सूचकाङ्क ०–५० हुँदा राम्रो, ५१–१०० हुँदा मध्यम, १०१–१५० हुँदा संवेदनशील समूहका लागि अस्वस्थ, १५१–२०० अस्वस्थ, २०१–३०० निकै अस्वस्थ तथा ३०१ भन्दा माथि भएमा खतरनाक तह पुगेको सङ्केत गर्दछ ।

यसैगरी विभागले सवारीसाधनको नियमित मर्मत सम्भार गर्न, उद्योग कलकारखाना तथा भान्साहरूमा स्वच्छ ऊर्जाको प्रयोग गर्न, सडक तथा निर्माण कार्यहरूबाट उड्ने धूवाँ धूलोको यथोचित नियन्त्रण गर्न पनि भनेको छ ।

Health Tips Ad Road Block