काठमाडौं । सोमबार एकैदिन सुनको मूल्य तोलामा १५ हजार ९ सय रुपैयाँले घटेको छ । सरकारले भन्सार महसुल घटाएपछि सुनको मूल्यमा भारी गिरावट भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला १ लाख ५१ हजार ३ सय रुपैयाँ निर्धारण गरिएको छ । आइतबार सुनको मूल्य तोलाको १ लाख ६७ हजार २ सय रुपैयाँ रहेको थियो ।
भारतमा भन्दा बढी भन्सार महसुल भएका कारण नेपालमा तस्करी बढिरहेको आशंकाको स्थितिलाई विचार गरेर सरकारले भन्सार महसुल घटाएर १० प्रतिशतमा झारेको थियो । महासंघले भन्सार दर २० प्रतिशतबाट १० प्रतिशतमा झरेपछि बजार मूल्यमा प्रभाव परेको स्पष्ट पारेको छ ।
यसअघि नयाँ उचाइ १ लाख ७१ हजार रुपैयाँसम्म पुगेको सुनको मूल्य घटेर १ लाख ६० हजार रुपैयाँ सम्म आएको थियो । त्यसपछि पुनः बढ्न सुरु गरेको मूल्य सरकारले भन्सारमहसुल घटाएपछि ह्वात्तै घटेको हो ।
आज चाँदीको मूल्य पनि तोलामा ११५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १८४५ रुपैयाँ रहेको महासंघले जनाएको छ ।





















