skip this News Page Tips Ad Road Block

काठमाडौं महानगरले भन्यो–लैङ्गिक हिंसा विरुद्धका कृत्रिम र देखावटी कार्यक्रम आयोजना गरिन्न

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । काठमाडौं महानगरपालिकाले लैङ्गिक हिंसा विरुद्धका देखावटी र कृत्रिम कार्यक्रम नगर्ने तर वार्षिक नीति तथा कार्यक्रममा निर्दिष्ट भएका, विगतदेखि नियमित चलिरहेका कार्यक्रमलाई निरन्तरता दिने भएको छ । १६ दिने महिला हिंसा विरुद्ध अभियान सुरु हुनु अघिल्लो दिन प्रवक्ता नविन मानन्धरले प्रेस विज्ञप्ति जारी गर्दै महानगरपालिकाको धारणा सार्वजनिक गरेका हुन् ।

‘बालापनको रक्षा, भविष्यको सुरक्षा’ कार्यक्रममार्फत महानगरपालिकाले, जोखिममा परेका, विशेष संरक्षणको आवश्यकता भएका, घरेलु तथा यातायात क्षेत्रमा श्रमिकका रूपमा जोखिमपूर्ण काम गरिरहेका, यौन शोषणमा परेका बालबालिकालाई उद्धार, अस्थायी संरक्षण, स्वास्थ्य उपचार, कानुनी उपचार, शैक्षिक अवसर प्रदान गरिरहेको विज्ञप्तिमा उल्लेख छ । यस कार्यमा राज्यका सम्बद्ध निकाय र अधिकारीहरूबाट अपेक्षित सहयोग प्राप्त हुन नसकेको पृष्ठभूमिमा देखावटी रूपमा कृत्रिमता प्रदान गर्ने गरी १६ दिनलाई मात्र लैङ्गिक हिंसा विरुद्धको अभियानका नाममा कार्यक्रम सञ्चालन गर्नु नाटकीय हुने र नैतिक रूपमा जायज मान्न नसकिने उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ, ‘यस वर्ष अभियानअन्तर्गतका कुनै पनि कार्यक्रम तथा गतिविधिहरू काठमाडौं महानगरपालिकाद्वारा सञ्चालन नगरिने तर लैङ्गिक हिंसा विरुद्धका वार्षिक कार्यक्रमहरू भने निरन्तर सञ्चालन गरिने ब्यहोरा जानकारी गराइन्छ ।’

महानगरपालिकाले सञ्चालन गरेका कार्यक्रमहरू:

लैङ्गिक हिंसा नियन्त्रणका लागि काठमाडौं महानगरपालिकाले नीति, कार्यविधि र कार्यक्रमबाट समुदायमा स्तरमा काम गरिरहेको छ । लिङ्गका आधारमा हुने हिंसा नियमनका लागि लैङ्गिक हिंसा निवारण कोष, २०७८, मानव वेचविखन तथा ओसारपसार कार्यविधि २०७८, महिला सञ्जाल गठन तथा सञ्चालन कार्यविधि २०७९ जारी भएका छन् । यस्तै बालबालिकाको संरक्षणका लागि ‘बाल संरक्षण तथा बालबालिका सम्बन्धी कार्यविधि, २०८०’ जारी भएको जनाएको छ ।

कार्यविधि अनुसार बालबालिकाको अवस्थामा जानकारी लिन सार्वजनिक यातायात क्षेत्र, होटेल रेस्टुरेन्ट तथा होस्टेलमा रहेका बाल श्रमिक र आफ्ना नातागोताबाहेक अन्य व्यक्तिसँग रहे बसेका बालबालिका सम्बन्धी अध्ययन गरेको छ । यसबाट जोखिममा देखिएका २४ जना बालक र २७ जना बालिका गरी ५१ जना बालबालिकालाई पहिलो चरणमा उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये परिवारमा फर्किन चाहने २४ जनालाई परिवारमा पुनः स्थापना गरिएको छ भने परिवारमा फर्काउँदा सर्वोत्तम हित नहुने देखिएका बालबालिकालाई शिक्षा, स्वास्थ्योपचार सहित दीर्घकालीन स्याहारको समेत प्रबन्ध गरिएको छ । दोस्रो चरणमा १२ जना बालबालिकाको उद्धार गरिएको जनाएको छ ।

वडा स्तरीय महिला सञ्जालले हिंसाको सूक्ष्म निगरानी गर्ने र नियन्त्रण गर्ने काम गरिरहेका छन् ।

आर्थिक, सामाजिक र राजनीतिक परिवेशअनुसार हिंसाका प्रकृति र घटना फरक देखिन्छन् । हिंसामा महिला मात्र छन् भन्ने अवस्था छैन । यसमा पुरुष र यौनिक अल्पसङ्ख्यक पनि छन् ।

हिंसा अन्त्य गर्न यो (हिंसा) के हो ? कसरी हुन्छ ? पीडितले थाहा पाउनु पर्छ । घरायसी सम्बन्ध र सामाजिक आचरणमा कस्ता स्वभाव हुन्छन् ? कस्तो आवाज र कस्तो व्यवहारलाई हिंसा मान्ने भन्ने अनुभूत हुनुपर्छ । अनि मात्र हिंसा विरुद्ध कानुनी उपचार खोज्न सकिन्छ । शिक्षित र सम्पन्न परिवारमा पनि हिंसा देखिएको छ । बाहिर आउन लजाएर तथा डराएर अझै पनि कतिपय हिंसा बाहिर आउन सकेका छैनन् ।

महिला, पुरुष वा तेस्रो लिङ्गी भएकै कारण भेदभाव, अपमान, दुर्व्यवहार, शारीरिक, मानसिक, भावनात्मक वा यौनजन्य पीडा सबै लैङ्गिक हिंसा हुन् । कानुनले यी सबै क्रियाकलापलाई अपराध मानेको छ । सामाजिक विकासलाई मानव विकासको महत्त्वपूर्ण पक्षका रूपमा आत्मसात् गरी लैङ्गिक हिंसा जस्ता अपराधबाट शहरलाई मुक्त बनाउन महानगरपालिकाले निरन्तर काम गरिरहेको जनाएको छ ।

Health Tips Ad Road Block