काठमाडौं । नेकपा (एमाले) ले आज काठमाडौंको दरबारमार्गमा जागरण सभा गर्दैछ । एमालेको काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला कमिटीको संयुक्त आयोजनामा आज काठमाडौंको दरबारमार्गमा जागरण सभा हुन लागेको हो।
राजनीतिक स्थायित्व, सुशासन, विकास र समृद्धिका बारेमा आमजनतालाई सुसूचित गराउने उद्देश्यले एमालेले जागरणसभा गर्न लागेको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले बताएका छन् । जागरणसभामा लोकतन्त्र र विधिको शासनमा विश्वास गर्ने सबैलाई सहभागी हुन अनुरोध गरेको एमालेले जनाएको छ । उपमहासचिव ज्ञवालीले लोकतन्त्र स्थापनापछि मुलुकमा भएका राम्रा कामको प्रचारप्रसार गरी फैलाइएका भ्रम र हल्ला चिर्नुपर्ने दायित्व अहिले मुलुकका जिम्मेवार राजनीतिक पार्टी, नागरिक समाज र आमजनताको काँधमा आएको भन्दै जागरणसभाबाट उक्त सन्देश प्रवाह हुने जानकारी दिएका छन् ।
पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार बनेपछि अर्थतन्त्रमा सुधारको सङ्केत देखिएको र सरकारले सुशासनको पक्षमा कदम चालिरहेको एमालेको दाबी छ । एमालेका अनुसार प्रजातन्त्रको पुनःस्थापनापछि सडक सञ्जाल, शिक्षा, स्वास्थ्य, सञ्चारलगायतका सबै क्षेत्रमा उल्लेख्य प्रगति भएको छ । नेपालको विद्यमान संविधान कार्यान्वयन भएको करिब नौ वर्षको अवधिमा देखिएका कमीकमजोरीलाई सुक्ष्मरूपमा समीक्षा गरी सरोकारवाला सबैको उचित रायसुझावलाई समेत समेटेर राष्ट्रिय सहमतिका साथ संविधान संशोधन गर्नुपर्ने पक्षमा एमाले रहेको छ ।
नेकपा (एमाले)का स्थायी कमिटी सदस्य तथा जागरणसभा संयोजन समितिका संयोजक डा. राजन भट्टराईले उपत्यकास्तरीय एमाले सम्बद्ध सङ्घ, सङ्गठनद्वारा आयोजना हुने जागरणसभमा एक लाख मानिसको उपस्थिति हुने अपेक्षा गरिएको बताएका छन् । डा. भट्टराईले काठमाडौंको भद्रकालीबाट र्याली सुरु भई सुन्धारा, वीर अस्पताल, रत्नपार्क, घण्टाघर हुँदै दरबारमार्गमा पुगेर जागरणसभामा परिणत हुने बताएका छन् । सभालाई प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीसहित पार्टीका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको उनले जानकारी दिएका छन् ।





















