skip this News Page Tips Ad Road Block

संघीय मन्त्रालयद्धारा वार्षिक कार्ययोजना बमोजिमका कार्यक्रम समयमै सम्पन्न गर्न निर्देशन

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले वार्षिक कार्ययोजना बमोजिमका सबै कार्यक्रम समयमै सम्पन्न गर्न सबै निकायहरूलाई निर्देशन दिएको छ । मन्त्रालयले आर्थिक वर्ष २०८१/८२ को प्रथम त्रैमासिक प्रगति समीक्षा एवम् मन्त्रालयलयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्रालयले मन्त्रालय र अन्तर्गतका निकायहरूमार्फत धेरै काम गर्न बाँकी रहेकाले वार्षिक कार्ययोजना बमोजिमका सबै काम समयमै सम्पन्न गर्न निर्देशन दिएको हो । मन्त्री राजकुमार गुप्ताले मन्त्रालय र अन्तर्गतका निकायहरूको त्रैमासिक प्रगति सन्तोषजनक रहे पनि अझै धेरै काम गर्न बाँकी रहेको बताएका छन् ।

‘मन्त्रालयको कार्यक्षेत्र अन्तर्गतको विषयगत समितिको बैठक यथाशीघ्र राखी प्रशासनिक सङ्घीयताको प्रभावकारी कार्यान्वयनमा सहजीकरण गर्न आवश्यक छ,’ मन्त्री गुप्ताले भने, ‘यी सबै कार्यमा यहाँहरू सबै निकायको सहयोग र समन्वयको अपेक्षा गर्दै वार्षिक कार्ययोजना बमोजिम सबै कार्यक्रम समयमै सम्पन्न गर्न सबै निकायलाई निर्देशन गर्दछु ।’

प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफूले गरेको कार्यसम्पादन सम्झौता, मन्त्रालयको तर्फबाट पेश गरिएको १०० र २०० दिनको कार्ययोजना तथा मन्त्रालयको कार्यविभाजन बमोजिम सङ्घीयता कार्यान्वयनमा सहजीकरण गर्ने, सार्वजनिक सेवामा मानव संशाधन व्यवस्थापन गर्ने, सेवा प्रवाह र सुशासन सुनिश्चित गर्ने र स्थानीय पूर्वाधार विकासमा सहजीकरण गर्नु मन्त्रालयको मुल कार्यभार भएको मन्त्री गुप्ताको भनाइ छ । उल्लेखित कार्यहरूमा मन्त्रालयले थप क्रियाशीलतासहित कार्यसम्पादन गर्नुपर्नेमा उनले जोड दिए ।

संसदमा विचाराधीन सङ्घीय निजामती सेवा ऐन, निर्माणमुखी सामग्रीको व्यवस्थापनसम्बन्धी ऐनको शीघ्र स्वीकृतिका लागि पनि मन्त्रालयको समग्र टीमले समन्वय र सहजीकरण गर्नुपर्ने उनले बताए । सङ्घीयतालाई थप सवलीकरण गर्नेगरी स्थानीय सरकार सञ्चालन ऐनको संशोधन मस्यौदा छिट्टै सङ्घीय संसदमा पेश गर्नुपर्ने उनको भनाइ छ ।

बैठकमा मन्त्रालयका सह–सचिव एवम् प्रवक्ता काली प्रसाद पराजुलीले मन्त्रालयको समग्र प्रस्तुति राखेका थिए । यस्तै राष्ट्रिय किताबखानाका महानिर्देशक वैकुण्ठ निधी शर्मा, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका अध्ययन निर्देशक सुन्दर श्रेष्ठ, स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक कानुन लाल चौधरी, निजामती कर्मचारी अस्पतालका उपसचिव जोरा सिंह धामी र आदिवासी जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठानका सदस्यसचिव कमल राज राजवंशीले आ–आफ्नो निकायको प्रस्तुति राखेका थिए ।

बैठकमा राष्ट्रिय योजना आयोगका सदस्य गंगादत्त अवस्थी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव भरतमणि सुवेदी, राष्ट्रिय योजना आयोगकका सह–सचिव यज्ञराज कोइरालालगायतको उपस्थिति थियो । साथै बैठकमा सामान्य प्रशासन मन्त्रालयका सह–सचिवहरू, महानिर्देशक र शाखा प्रमुखहरूको पनि सहभागिता थियो ।

Health Tips Ad Road Block