धादिङ । निर्माणाधीन अवस्थामा रहेको धार्के सितापाईला सडक खण्ड कार्तिक २३ गतेदेखि पन्ध्र दिनको लागि बन्दगरी सडकमा कालोपत्रे र थप स्तरोन्नति गर्ने कार्य भइरहेको छ । सडकमा कालोपत्रे गर्न बाँकी रहेको स्थानमा कालोपत्रे र थप स्तरोन्नति गर्नका लागि सो सडक खण्ड बन्द गर्ने निर्णय भएको हो।
जिल्ला प्रशासन कार्यालय धादिङले नै एक सूचना जारी गर्दै अत्यावश्यक सवारीका साधन बिरामी बोकेका एम्बुलेन्स, प्रहरीका सवारी साधनबाहेक सबै सवारी त्यस सडकखण्डबाट आवतजावत नगर्ने गरी बन्द गर्ने निर्णय गरेको थियो । अहिले सडकको स्तरोन्नति र कालोपत्रे तीव्र गतीमा भइरहेको छ ।
सो सडक भएर राजधानी प्रवेशका लागि आउने सवारी साधनहरूलाई वैकल्पिक सडकको प्रयोगका लागि समेत जिल्ला प्रशासन कार्यालय धादिङले अनुरोध गरेर काम भइरहेपनि काममा ढिलाई भइरहेको छ । कतिपय स्तरोन्नति गर्नुपर्ने स्थानमा काम नै हुन सकेको छैन । कतिपय स्थानमा ग्याभिन जाली लगाउने काम भइरहेको छ भने कतिपय स्थानमा ढलान गर्ने एवं कालोपत्रे पनि भइरहेको छ । तर कतिपय स्थान भने धुलाम्मे छ । एक स्थानीयका अनुसार केही स्थानमा जग्गा विवाद रहेको र स्थानीय जनप्रतिनिधिले पनि त्यसलाई उचाल्ने काम गरिरहेको हुँदा सडकको काममा अबरोध भइरहेको र तोकिएको समयमा नसकिने स्थिति रहेको छ । सडकमा परेको जग्गाबारेको विवादमा आर्थिक चलखेलको समेत आशंका रहेको ती स्थानीयले बताए ।
स्थानीय प्रशासनले भने तोकिएको पन्ध्र दिनको समयमा काम सम्पन्न नभए समय थप हुन पनि सक्ने जनाएको छ ।
यतिबेला नौबिसे नागढुंगा सडकको दुरावस्थाका कारण साना हल्का सवारी र मोटरसाइकलहरु विशेषत त्यही बाटो भएर काठमाडौं र धादिङ हुँदै अन्यत्र जाने काटो तय गरिरहेका छन् ।
फोटोमा हेर्नुहोस् धार्के-सितापाइला सडक निर्माणः


सडकमा काम भइरहेकाले संघीय राजधानी काठमाडौं प्रवेश गर्न वैकल्पिक सडकको रूपमा धार्के–नौबिसे–नाग ढुङ्गा सडक र गल्छी–विदुर–छहरे–टोखा सडक प्रयोग गर्न धादिङका सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले यात्रुहरूलाई आग्रह गरेका छन् ।



















