काठमाडौं । नेपाल विद्युतीय व्यवसायी महासंघले आयोजना गरेको ‘फीन इलेक्ट्रो टेक –२०२४’ ४० हजार अवलोकनकर्ताको सहभागितासहित सम्पन्न भएको छ । काठमाडौंको भृकुटीमण्डपमा कार्तिक २९ गतेबाट सञ्चालित फीन इलेक्ट्रो टेक आइतबार सम्पन्न भएको हो ।
ट्रान्सवेल्ड ट्रान्सफर्मरद्वारा प्रायोजित ११ औं संस्करणको फीन इलेक्ट्रो टेकमा प्रदर्शनीको पहिलो दिन ७ हजार, दोस्रो दिन ९ हजार, तेस्रो दिन १७ हजार र चौथो दिन ७ हजारले गरी जम्मा ४० हजारले अवलोकन गरेका छन् ।
इलेक्ट्रिक र इलेक्ट्रोनिक्स सामग्रीहरूको प्रयोगमा आएको महत्वपूर्ण परिवर्तनले दैनिक जीवनमा आएका सहजता र प्रभावकारीताबारे उपभोक्तालाई बुझ्न यस मेलाले थप सहज बनाएको महासंघले विश्वास लिएको छ । मेलामा इलेक्ट्रिक मोटर, जेनरेटर, विद्युत ट्रान्समिशन लाइनका उपकरण, ट्रान्सफर्मर, घरमा प्रयोग गर्ने विद्युतीय सामग्रीहरू अवलोकनकर्ताको आकर्षणमा परेका थिए ।
स्मार्ट ग्रिडहरूमा डिजिटल टेक्नोलोजी र इलेक्ट्रोनिक सामग्रीको प्रयोग गरिन्छ । जसले ऊर्जा वितरण र प्रयोगको निगरानी र नियन्त्रण गर्ने भएकाले यस पटकको मेला महासंघले “प्रविधिको नयाँ आयाम, विद्युतीय सामग्रीमा सुरक्षा र गुणस्तर कायम”भन्ने नाराका साथ आयोजना गरेको हो ।
इलेक्ट्रिक र इलेक्ट्रोनिक सामग्रीहरूको प्रयोग अहिले लगभग हरेक क्षेत्रमा फैलिएको छ । यसले जीवनलाई सजिलो, प्रभावकारी र सुरक्षित बनाएको छ । यी सामग्रीहरूको भविष्यमा पनि नयाँ नवप्रवर्तन र प्रविधिहरूमा प्रयोगका अवसरहरू बढ्दै जाने भएकाले अहिले विद्युतीय सामग्रीहरूमा आएको ट्रेन्डलाई मेलाले उपभोक्तालाई बुझायो भन्ने अपेक्षा महासंघले लिएको छ ।






















