काठमाडौ । क्रिकेट संघ नेपाल (क्यान) द्वारा आयोजना हुन गइरहेको नेपाल प्रिमियर लिग २०२४ देखि २०२९ सम्म (५ वर्ष) को मुख्य प्रायोजकको रुपमा सिद्धार्थ बैंक लिमिटेड आवद्ध भएको छ । क्यानले कार्तिक ३० गते क्यानका पदाधिकारी, बैंक संचालक समितिका अध्यक्ष मनोज कुमार केडिया, संचालक समितिका सदस्य, बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कँडेल, व्यवस्थापन समूह, बैंकको भगिनी संस्थाका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतहरुको उपस्थितिमा एक कार्यक्रम आयोजना गरी नेपाल प्रिमियर लिगको मुख्य प्रायोजक सार्वजनिक गरेको थियो । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको प्रथम संस्करण आगामी मंसिर १५ देखि पौष ६ गतेसम्म कीर्तिपुर स्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा हुँदैछ ।
नेपालको क्रिकेट जगतलाई थप उचाइमा पु¥याउने उद्देश्यका साथ सिद्धार्थ बैंक यस लिगसँग जोडिएको धारणा बैंकका अध्यक्ष मनोज कुमार केडियाले व्यक्त गरेका छन् । साथै बैंकका प्रमुख कार्यकारी अधिकृत कँडेलले बैंकको यस समन्वयले नेपालमा क्रिकेटको स्तर नयाँ उचाइमा पु¥याइ देशको आर्थिक र सामाजिक विकासमा योगदान पु¥याउन मद्दत पुग्ने धारणा व्यक्त गरेका थिए ।
पछिल्ला दिनहरूमा क्रिकेट खेलले सबै उमेर समूहका मानिसहरूमा अत्यधिक लोकप्रियता प्राप्त गरेको र खेलभन्दा बढी राष्ट्रिय भावनाको रूपमा हेर्ने गरिएकोले पनि बैंक नेपाल प्रिमियर लिगको ५ वर्षको लागि मुख्य प्रायोजकको रुपमा जोडिएको हो । यस समन्वयले नेपालको क्रिकेट विकासमा योगदान गर्दै खेलाडीहरूमा प्रतिस्पर्धात्मक अनुभव प्राप्त गर्न मद्दत पु¥याउनेछ भन्ने विश्वास बैंकले लिएको छ ।





















