Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रधानमन्त्रीको पहल

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्या समाधानका लागि आज चिकित्सा शिक्षा आयोगका पदाधिकारीसँग छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा सरकारी मेडिकल कलेजमा क्षमता भएबमोजिम विद्यार्थीको सिट सङ्ख्या निर्धारण तथा निजी मेडिकल कलेजमा तोकेबमोजिम शुुल्क र छात्रवृत्ति व्यवस्थापनका लागि राय परामर्श गरिएको छ । स्वदेशभित्रै सहज र गुणस्तरीयरूपमा चिकित्सा शिक्षा उपलब्ध गराउन तथा उत्पादित दक्ष जनशक्तिलाई स्वास्थ्य संस्थामा रोजगारीको वातावरण सृजना गरी मुलुकको समृद्धिमा कसरी योगदान दिन सकिन्छ भन्ने विषयमा छलफल केन्द्रित रहेको थियो ।

यस्तै नर्सिङ शिक्षामा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्बाट सम्बन्धनप्राप्त सबै संस्थाहरुमा सहज भर्नाका विषयमा प्रधानमन्त्री ओलीले चासो दिएका थिए । उनले आयोगको बैठक छिट्टै राखेर आवश्यक निर्णय लिने र चिकित्सा शिक्षामा सहजताका लागि विद्यमान ऐन–नियममा सामयिक संशोधनको गृहकार्य गर्ने विषयमा परामर्श गरेका थिए ।

“हामीले राष्ट्रिय स्वार्थ र न्यायोचित कुरालाई हेर्नुपर्छ । देशको समृद्धिमा कसरी लाभ पुुग्छ भन्ने कुरालाई केन्द्रमा राख्नुपर्छ ।’’, आयोगका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले भने, “कुनै लहड, स्वार्थ वा नेपालका विद्यार्थी विदेशमा पढ्न जान बाध्य बनाउने गलत स्वार्थमा लाग्नुु हुँदैन ।’’

राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १२ मा विद्यार्थीको पढाइ र अभ्यासका लागि मेडिकलतर्फ कम्तीमा तीन सय तथा डेन्टल र नर्सिङतर्फ एक सय शैयाको अस्पताल सञ्चालन नभएसम्म सम्बन्धित विषयको कुनै पनि कार्यक्रम सञ्चालन नगर्ने भन्ने व्यवस्थाका कारण नर्सिङ शिक्षा सञ्चालनमा असहजता देखिँदै आएको छ । आयोग र परिषद्को वार्षिक क्यालेण्डरलाई एकरुपतामा ल्याउन पनि कठिनाइ हुँदै आएको छ ।

आयोगका उपाध्यक्ष प्रा.डा.अञ्जनीकुमार झाले अब बस्ने आयोगको बैठकबाट सात नयाँ संस्थालाई आशयपत्र र २८ संस्थालाई विद्यार्थीको कोटा निर्धारणलगायत कार्यसूूची हुने अवगत गराए ।

आयोगले चिकित्सा शिक्षाको एकीकृत नियमन, अनुुगमन, प्रवेश परीक्षा सञ्चालन, शिक्षण संस्थाको विद्यार्थी सिट सङ्ख्या र शिक्षण शुल्क निर्धारणसम्बन्धी कार्यहरु गर्दै आएको छ ।

यसैबीच प्रधानमन्त्री ओलीले आजै काठमाडौं विश्वविद्यालय र धुलिखेल अस्पतालबीचको विवाद मिलाउने सम्बन्धमा विश्वविद्यालयका पूर्व उपलकुुलपतिहरु डा. सुरेशराज शर्मा, डा. रामकण्ठ मकाजुु श्रेष्ठलगायतसँग छलफल गरेका छन् । प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति ओलीले दुवै संस्था अन्तर्राष्ट्रियस्तरमा समेत ख्यातिप्राप्त भएकाले एकापसमा मिलेर जाँदा उचित हुने भएकाले आपसी गृहकार्य गरी समाधानको उपया ल्याउन यसअघिको सिनेट बैठकमा निर्देशक दिएका थिए । उक्त विवाद मिलाउन नेपाल सरकारका प्रतिनिधि, दुवै संस्थाका पदाधिकारी र जनप्रतिनिधि रहेको कार्यदल गठन गरिएको छ । कार्यदलको प्रतिवेदन प्राप्त भएपछि विश्वविद्यालयको सिनेट बैठकमा प्रस्तुत गरिनेछ ।

Health Tips Ad Road Block