रसुवा । रसुवाको गोसाईकुण्ड गाउँपालिका–१ र २ मा निर्माण भएको १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजनाबाट विद्युत उत्पादनको परीक्षण सुरु गरिएको छ । नेपाल विद्युत प्राधिकरण र चिलिमे जलविद्युत कम्पनीको मुख्य लगानीमा स्थापित रसुवागढी हाइड्रोपावर कम्पनीको प्रवर्द्धनमा निर्माण भएको आयोजनाबाट विद्युत उत्पादन परीक्षण सुरु गरिएको हो। यसका लागि कार्तिक २४ गतेबाट योजनाको विद्युतगृहदेखि चिलिमे हबसम्मको १३२ केभी क्षमताको प्रसारण लाइन चार्ज गरिएको कम्पनीले जनाएको छ।
त्यसैले प्रसारण लाइन भएको स्थान गोसाईकुण्ड गाउँपालिकाअन्तर्गत टिमुरे, तातोपानी डाँडा, दालफेदी, बुमन, मेन्दो, तार्मा तथा आमाछोदिङमो गाउँपालिकाअन्तर्गत केराघारी, पाजुङ, गोङगाङ, गोल्जुङवेशी, क्षेत्रहरुमा प्रसारण लाइनको मार्गाधिकार क्षेत्र (लाइनको केन्द्र विन्दुबाट दायाँबायाँ ९–९ मिटर) भित्र नजान, टावरहरुमा नछुन कम्पनीले सर्वसाधरणलाई सूचित गरेको छ। साथै उल्लेखित क्षेत्रहरुमा आगलागी, स्पार्किकड भएको कहीँकतै देखिएमा नजिकैको प्रहरी कार्यालय तथा आयोजनाको कार्यालयमा जानकारी गरिदिन पनि कम्पनीले आग्रह गरेको छ। त्यस क्रममा आयोजनाको बाँधस्थलमा रहेका गेट (ढोका)हरु समयद्धसमयमा खोल्ने तथा बन्द गर्नुपर्ने भएकोले भोटेकोशी नदीको बहावसमेत परिवर्तन हुने भएको हुँदा आयोजनाको हेडवर्क्स (बाँधस्थल) देखि रसुवा जिल्लाको तल्लो तटीय क्षेत्रभर नदीको आसपास आवतजावत, हिँडडुल गर्न, नदीजन्य पदार्थ उत्खनन गर्न, माछा मार्न तथा नुवाइधुवाइ आदि कार्य गर्न सुरक्षाको दृष्टिकोणले अत्यन्त जोखिम हुने हुँदा नदी क्षेत्रभित्र प्रवेश नगर्न नगराउन सर्वसाधारणलाई कम्पनीले आग्रह गरेको छ।
‘यस अवधिमा सो क्षेत्रमा असामान्य अवस्था जोखिम देखिएमा सोको जानकारी तत्काल आयोजनाको कार्यालय वा नजिकैको प्रहरी चौकीमा गराउन अनुरोध छ’, कम्पनीद्वारा जारी सूचनामा भनिएको छ, ‘यस सूचनालाई बेवास्ता गरी कुनै दुर्घटना भएमा कम्पनी जिम्मेवार नहुने व्यहोरासमेत यसै सूचनामार्फत जानकारी गराइन्छ।’























