काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी आज मेक्सिको प्रस्थान गरेका छन् । मकै र गँहुवालीको प्रर्वद्धन सम्बन्धी अन्तराष्ट्रिय संस्थाले आयोजना गरेको विभिन्न कार्यक्रममा मन्त्री अधिकारी सहभागी हुनेछन् ।
मन्त्री अधिकारी मकै र गहुँवाली प्रर्वद्धन सम्वन्धी दुईपक्षीय र वहुपक्षीय बैठकहरुमा सहभागी हुने कार्यक्रम रहेको छ । छलफलबाट नेपाल सरकार र उक्त संस्थाबीच भएको १० वर्षीय सम्झौता अनुरुपका अनुसन्धान तथा विकासका क्रियाकलापहरु र संयुक्त कार्यक्रम विकासको योजना तयार गरिनेछ । मन्त्री अधिकारीले मेक्सिकोको कृषिसम्बन्धी अधिकारी र आयोजक संस्थाका प्रमुख सँग पनि भेटवार्ता गर्नेछन् ।
मन्त्री अधिकारीको भ्रमणले नेपालको कृषि विकास रणनीति र नेपाल सरकारले घोषणा गरेको कृषिमा लगानी दशक अनुरुपका क्रियाकलापहरुमा टेवा पुग्ने आशा गरिएको छ । मन्त्री अधिकारीको साथमा मन्त्रालयका सहसचिव रामकृष्ण श्रेष्ठ र हरिबहादुर केसी, मन्त्री अधिकारीका निजी सचिव रोसन अधिकारी लगायत छन् ।






















