पोखरा । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले सेवा ग्राही कार्यालयका काम सेवाग्राही मैत्री बनाउनेतर्फ केन्द्रीत हुन आग्रह गरेकी छन् । गृह जिल्ला कास्कीस्थित शिक्षा सम्बद्ध कार्यालयहरूको अवलोकनका क्रममा कार्यालय प्रमुख र कर्मचारीहरूसँगको अन्तक्रियामा मन्त्री भट्टराईले स्रोत साधनलाई दोष दिएर सेवा प्रवाहमा ढिलासुस्ती हुन नहुने भन्दै हरेक सेवा प्रवाहमा संरचना बाधक भए तत्काल समय सापेक्ष बनाउनेतर्फ लाग्न आग्रह गरिन् ।
राज्यका हरेक निकाय नागरिकका मौलिक हकहरूको संरक्षक समेत भएको हुँदा सबै निकाय इमान्दारीपूर्वक आफ्नो जिम्मेवारी र कर्तव्य पूरा गर्न लागि पर्नुपर्ने मन्त्री भट्टराईको भनाइ थियो।
प्रदेश र स्थानीय तह सहित संघ सरकारको समेत अपनत्व हुने गरी संरचना निर्माणका लागि मन्त्रालय लागि परेको भन्दै अब निजी र सरकारी शिक्षाभन्दा समग्र शिक्षा कस्तो बनाउने भन्नेतर्फ बहस केन्द्रित भएको भन्दै मन्त्री भट्टराईले छिट्टै जारी हुने शिक्षा ऎनमार्फत यसको सम्बोधन हुने जानकारी दिइन् । शिक्षाको गुणस्तर बढाउन दक्ष र तालिम प्राप्त शिक्षकको महत्त्वपूर्ण भूमिका हुने हुँदा उनीहरुको क्षमता विकासका काममा लाग्न कर्मचारीहरूलाइ निर्देशन दिइन् ।
सो अवसरमा प्राविधिक शिक्षाका शिक्षालयहरू थप ब्यवस्थित र प्रभावकारी बनाउन प्रदेशस्तरबाटै मनिटरिङ गर्ने ब्यवस्था ब्यवहारिक र वैज्ञानिक हुने जिकिर गरिन् ।
अन्तक्रिया लगत्तै मन्त्री भट्टराईले कास्कीस्थित शिक्षा विकास समन्वय इकाई, शिक्षा विकास निर्देशनालय, प्रादेशिक परिक्षा बोर्ड लगायतका कार्यालयहरूको अवलोकनसहित सेवा प्रवाहको अवस्था सम्बन्धमा जानकारी लिएकी थिइन् ।






















