काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले राष्ट्रिय सभामा छलफलको रुपमा रहेको नविकरणीय उर्जा तथा उर्जा दक्षता विद्येयक चाँडो पास हुने बताएका छन् । वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको २८ औँ वार्षिकोत्सवका अवसरमा उनले नविकरणीय उर्जाको विकासका लागि उक्त विद्येयकलाई चाँडो पास गरिने बताएका हुन् ।
“नविकरणीय उर्जालाई समयसापेक्ष रुपमा विकास गर्नका लागि आवश्यक विद्येयक, ऐन, नियमलाई चाँडो पास गछौँ,” मन्त्री खड्काले भने । उनले नविकरणीय उर्जा र उर्जा दक्षताको विकासका लागि लाग्न सम्पूर्ण कर्मचारीलाई निर्देशन समेत दिए ।
उर्जामन्त्री खड्काले सरकारले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएकाले यसलाई पुरा गर्नका लागि केन्द्रको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे । “हामीसँग भएको स्रोत र साधनको भरपुर प्रयोग गरी सरकारले राखेको लक्ष्य पुरा गर्न लाग्नुपर्छ,” उनले भने ।
मन्त्री खड्काले द्धन्द्धकालको समयमा स्थानीय तहमा विद्युत अवरोध हुँदा केन्द्रले गाउँगाउँमा गएर पु¥याएको सहयोगको सराहना गरे । उनले विदेशीले ऋण, सहयोग र अनुदान नेपाली जनतालाई सम्झेर दिएको भन्दै उक्त रकमलाई सही ठाउँमा सदुपयोग गर्नसमेत आग्रह गरे ।
उर्जामन्त्री खड्काले सरकारले निश्चित उदेश्य राखेर नेपाल विद्युत प्राधिकरण, बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र, विद्युत विकास विभागजस्ता संस्था स्थापना गरेकाले ईमान्दार भएर लक्ष्यप्राप्तीमा लाग्न आग्रह गरे । उनले विद्युत नपुगेका घरमा विद्युत पु¥याउन बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले खेलेको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे ।
उर्जा, जलस्रोत तथा सिंचाई राज्यमन्त्री पूर्णबहादुर (कान्छाराम) तामाङले नविकरणीय उर्जाको पहुँचमार्फत विद्युतको पहुँच पु¥याउन र देश खाना पकाउने स्वच्छ उर्जा प्रविधि प्रवद्र्धनका लागि केन्द्रले गरेका कार्यहरु सराहनीय रहेको बताए । राज्यमन्त्री तामाङले देशव्यापी नविकरणीय उर्जाको पहुँच विस्तार गर्नका लागि केन्द्र अझै शशक्त ढङ्गले अगाडि बढ्नुपर्ने बताए ।
उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव सुरेश आचार्यले राष्ट्रिय प्रसारणको लाईन नपुगेका क्षेत्रमा सौर्य उर्जामार्फत विद्युत प्रवाहमा केन्द्रले खेलेको भूमिका सकारात्मक रहेको बताए । उनले केन्द्रले विद्युतमार्फत ग्रामीण व्यवसायको विकासमा पु¥याएको योगदानको उच्च प्रशंशा गरे ।
वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले केन्द्रले स्थापनाकालदेखि हालसम्म आइपुग्दा ४० हजार २५३ किलोवाट लघु तथा साना जलविद्युत आयोजना निर्माण गरिसकेको बताए ।
यस्तै, ११ हजार १०४ सुधारिएको पानीघट्ट जडान, नौ लाख ९६ हजार ६४७ घरेलु सौर्य विद्युत प्रणाली जडान, चार हजार ३३२ संस्थागत सौर्य विद्युत प्रणाली जडान, तीन हजार ९७ किलोवाट पिक सौर्य मिनिग्रीड जडान गरिसकेको जानकारी दिए । केन्द्रले हालसम्म देशको करीव ३६ लाख ५० हजार घरधुरीमा स्वच्छ नवीकरणीय ऊर्जा प्रविधिको सेवा पु¥याएको कार्यकारी निर्देशक ढकालको भनाई छ ।
केन्द्रका नायव कार्यकारी निर्देशक डा. नारायणप्रसाद अधिकारीले विद्युत पहुँच विस्तार र खाना पकाउने स्वच्छ ऊर्जा प्रविधिको क्षेत्रमा केन्द्रले विशेष जोड दिँदै आएको बताए । हाल देशभर नवीकरणीय ऊर्जाको क्षेत्रमा ५०० भन्दा बढी कम्पनीहरु क्रियाशील रहेका छन् भने उक्त कम्पनीमार्फत ४० हजारभन्दा बढीले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा रोजगारी पाइरहेका छन् ।






















