काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउने आफ्नो प्रयास रहेको बताएका छन् । नेपाल चेम्बर अफ कमर्सले आज आयोजना गरेको कृषिमा लगानी दशक सन्दर्भिकता र निजि क्षेत्रको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममामा मन्त्री अधिकारीले कृषि क्षेत्रमा लागेकाहरुको सुझाव कार्यान्वयन गर्नका लागि आफ्नो सकारात्मक प्रयास हुने पनि बताए ।
सरकारले कतिपय कृषि उपजहरुको आयातमा रोक लगाईएको भन्दै मन्त्री अधिकारीले कृषिमा अनुदान दुरुपयोग गर्ने लाई कार्बाहीको दायरामा ल्याउन जरुरी छ भने । कृषिको विमकासको लागि थप लगानी वृद्धि गर्न जरुरी रहेको मन्त्री अधिकारीले बताए । मन्त्री अधिकारीले निजि क्षेत्र सग सहकार्य गर्न मन्त्रालय तयार रहेको र लगानी दशक सफल बनाउन निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने भएकाले निजी क्षेत्रलाई कृषिमा लगानी बढाउन आग्रह पनि गरे ।
गरिबी बाट मुक्ती पाउनका लागि पनि प्रत्येक परिवार कम्तीमा कृषिमा आत्मनिर्भर हुन जरुरी छ भन्दै मन्त्री अधिकारीले पछिल्लो समय कृषि कर्म गर्नेहरुको संख्या घट्नु चिन्ताको विषय भएको बताए। मन्त्री अधिकारीले आफ्नो ध्यान कृषि कर्म गर्नेहरुलाई प्रोत्साहन गर्नमा केन्द्रित रहेको बताए । कृषिमा सहज लगानीको वातावरण बनाउन आवश्यक रहेको भन्दै मन्त्री अधिकारीले लगानी दशक सफल बनाउन यो अनिवार्य शर्त हुनेमा जोड दिए ।






















