Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

सहकारी ठगहरूले अब उन्मुक्ति पाउँदैनन्: मन्त्री गुप्ता

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सहकारीको रकम अपचलन गरी वचतकर्तालाई रुवाउने कोही पनि ठगहरूले अब उन्मुक्ति नपाउने बताएका छन् ।

सहकारी पीडितहरूलाई न्याय दिलाउन वर्तमान सरकार क्रियाशील रहेको र ठूलो परिमाणको रकम अपचलन गरेको अभियोगमा विभिन्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएर अनुसन्धानका साथै कारबाही प्रक्रिया समेत अगाडि बढाइरहेको बताउनुहुँदै उनले अब कोही पनि ठगहरू राज्यको नजरबाट भाग्न नसक्ने बताएका हुन् ।

उनले सहकारीको रकम अपचलन गरेको आरोपमा व्यक्तिमाथिको अनुसन्धानलाई प्रभावित पार्न खोजिएको भन्दै चिन्ता पनि व्यक्त गरेका छन् ।

‘विगतमा विभिन्न प्रकरणमा विभिन्न व्यक्तिहरू अनुसन्धान र कारबाहीको दायरामा आइसकेका छन् । अहिले सहकारीको प्रसङ्ग उठेको छ । सहकारी ठगलाई कारबाही गर्दा मात्रै पीडितले न्याय पाउने कुरामा वर्तमान सरकार प्रष्ट छ’ मन्त्री गुप्ताले भने, ‘सहकारीको रकम दुरुपयोग अभियोगमा पक्राउ पर्नुभएका रवि लामिछानेविरुद्ध अनुसन्धान नै हुनुहुँदैन भनेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आन्दोलित भएको छ । अहिले त कस्तो देखियो भने सहकारी ठगलाई कारबाही नगर्ने हो भने यी दलहरू खुसी रहने र कारबाही प्रक्रिया अगाडि बढाउँदा दुःखी हुने अवस्था सृजना भयो । तर, सरकार अघि बढिसक्यो अब कोही पनि ठगहरूले उन्मुक्ति पाउने अवस्था छैन ।’

फरक धार भनेर उदाएको पार्टीले नै सुशासनको पक्षमा भएको कामको विरोध गर्नु नेपाली जनताका लागि दुर्भाग्य भएको उनको भनाइ छ । मन्त्री गुप्ताले यसअघि विभिन्न प्रकरणमा एमाले र कांग्रेसका उच्च तहका नेताहरूलाई समेत जेल चलान गरिएको र त्यस विषयमा ती पार्टीले कुनै पनि आन्दोलन नगरेको स्मरण पनि गराएका छन् । तर, रास्वपासहित प्रतिपक्ष दलहरूले सरकारविरुद्ध चरणवद्ध आन्दोलनको घोषणा गर्नुले ती दलहरू सुशासनको पक्षमा नरहेको स्पष्ट भएको उनको भनाइ छ ।

नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका मन्त्री गुप्ताले प्रतिपक्ष दलहरूको आन्दोलनबाट सरकार नडगमगाउने र दोषीलाई कारबाही गरेरै छाड्ने स्पष्ट गरेका छन् ।

Health Tips Ad Road Block