काठमाडौं । कृषि उद्योगको दिगो विकास र प्रवर्द्धनका लागि नीतिगत सहयोग र उत्पादनलाई प्रवद्र्धन गर्नुपर्नेमा कृषि क्षेत्रका विज्ञ एवं सरोकारवालाले जोड दिएका छन् ।
कृषि विभाग र एशोसिएशन अफ एग्रीकल्चरल टेक्नोलोजी इन्डस्ट्री नेपाल (आटी नेपाल)को संयुक्त आयोजनामा नेपाली कृषि उद्योग र उत्पादनलाई प्रवर्द्धन गर्ने उदेश्यका साथ कृषि उद्योगको दिगो विकास र प्रवर्द्धनका लागि आयोजित अन्तक्रियामा सहभागीहरुले यसबारे जोड दिएका हुन् । आटी नेपालका अध्यक्ष खोजराज कटुवालले नेपाल भरि छरिएका कृषि प्रविधि, औजार, सामग्रीहरु, कृषि उपकरण मल, बिउबिजन लगायत कृषि उत्पादनसँग सम्बन्धित व्यवसाय गर्ने उद्योगी, उद्यमी व्यवसायीहरुलाई एकिकृत गरि कृषिको उत्पादन र उत्पादकत्व अभिवृद्धिका लागि कृषिको व्यवसायीकरण, ओद्योगीकरण र आधुनिकीकरण गर्नुपर्नेमा जोड दिए । यसका लागि स्वदेश तथा विदेशका विकसित एवं उन्नत प्रविधि, ज्ञान, सिप, क्षमताको अनुशरण गर्दै कृषि प्रविधि, कृषि औजार, कृषि सामाग्री तथा उपकरणको निर्माण गरि कृषि अर्थतन्त्र र कृषकको जीवनस्तरमा टेवा पुर्याउने कार्यक्रम अगाडि बढाउनुपर्ने उनले बताए । किसानमैत्री दिगो नीति, वैज्ञानिक अनुदान प्रणाली, भएका प्रविधिलाई उद्यम र नीतिगत तहसम्म जोड्नसके कृषि औजार र उत्पादनको हालको ९० प्रतिशतको आयातलाई घटाएर निर्यात गर्नसक्ने अवस्थामा पुगिने उनको जिकिर थियो ।
कार्यक्रममा कृषि उद्यमी दिपक न्यौपाने, संगम शेर्पा लगायतले औधोगिक ऐनअन्तर्गत कृषि उद्योग नचल्ने भन्दै ३६५ दिन नै उत्पादन गर्नेहरुलाई कालिमाटी लगायतका ठूला बजार उपलब्धतामा सहजीकरण भएमा उत्पादित सामाग्री खेर नजाने, भारतमा बेचेसरह बिजुलीको दर कायम गरेर कृषिलाई उपलब्ध भएमा आधा छुटसरह हुने, हाइटेक प्रविधिअन्तर्गत लगानी गर्नेहरुलाई बीमा, बैंकसहित सबै विषयमा छुट्टै व्यवस्था भएमा नेपालमा कृषिमा अझै ठूलो लगानी आउन सक्नेतर्फ ध्यान दिन आग्रह गरेका थिए । त्यस्तै वास्तविक किसानका विषयलाई सम्बोधन गराउनेतर्फ ध्यान दिन सहभागीहरुको जोड रहेको थियो ।
अन्तक्रियामा सहभागीहरुको जवाफको उत्तर र प्रस्तुती दिँदै कृषि विभागका महानिर्देशक डा.नरहरि प्रसाद घिमिरेले सरकारका नीति, नियम अनुसार बजेट तथा कार्यक्रम बढाउँदै युवा पुस्तालाई कृषिमा आकर्षित गर्न उपयुक्त नीति लिएर अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याए ।
नेपाल कृषि अनुसन्धान परिषद्का वैज्ञानिक गंगाराम भण्डारीले कृषि उद्योगबाट देशको आर्थिक उपार्जनसहित रोजगारी सिर्जना, सिपको विकास गर्नतर्फ जोड दिए । भण्डारीले वर्तमान समयमा कृषि क्षेत्र र उद्योगहरूमा दक्ष जनशक्तिको अभाव, कच्चा पदार्थ आयातमा महँगो भन्सार दरले उद्योगीलाई निरुत्साहित गरेकोतर्फ सरकारको ध्यानाकर्षण गराए ।
प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना खुमलटारका वरिष्ठ कृषि इन्जिनियर जीत चन्दले राज्यका सबै तह र निकायबाट कृषिमा आधारित उद्योगमा रोजगारी सिर्जना र वास्तविक किसानलाई फाइदा पुग्नेगरी कृषि उद्योगको विकासमा लाग्न ध्यान दिनुपर्ने बताए ।
सो अवसरमा आटी नेपालले आफ्ना उदेश्य सार्वजनिक गरेको थियो । कृषि सम्बन्धी नविनतम तथा नवप्रवर्धित स्वदेशी उद्योग स्थापना गरी यस प्रकारका उद्योगी, व्यवसायीहरुलाई एकताबद्ध गराउने, मेड इन नेपाल र मेक इन नेपाल टेक्नोलोजीलाई स्वदेशमै उत्पादन वा एसम्बल गर्ने र नेपाली श्रम, सिपलाई व्यापक अवसर प्रदान गर्ने, कृषिका सामग्री तथा वस्तुहरुको उत्पादन वृद्धि गराई आयात प्रतिस्थापन र निर्यात प्रवर्धन गर्ने, स्वदेशमै आविस्कार भएका वा विकसित मुलुकमा कृषि सम्बन्धी भएका नविनतम प्रविधिलाई नेपालमा भित्र्याउने, उक्त प्रविधिको आवश्यक र प्रभावकारी देखिएमा स्वदेशमै उत्पादन गर्ने, समय–समयमा स्वदेशी कृषि उद्योगहरुको भ्रमण गर्ने, समस्याहरुको पहिचान गरि समाधानको लागि सम्बन्धित क्षेत्रसँग पहल गर्ने,कृषि उद्यमी, जनप्रतिनिधि, सरकारी तथा गैरसरकारी संघसंस्थासँग सहकार्य गर्ने विषयमा जोड दिएको आटी नेपालले जनाएको छ ।