api apartment jhamsikhela mangsir 2081

skip this News Page Tips Ad Road Block

यातायात व्यवसायी र मजदुरलाई तत्काल राहत पुग्नेगरी वित्तीय सहयोग गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं । प्रमुख तीन यातायात व्यवसायी संगठनले असोज ११ र १२ गतेको अविरल वर्षापछिको बाढीपहिरो पीडित यातायात व्यवसायी र मजदुरलाई तत्काल राहत पुग्ने वित्तीय सहयोग गर्न सरकारको ध्यानाकर्षण गराएको छ । एक विज्ञप्ति जारी गर्दै नेपाल गणतान्त्रिक यातायात व्यवसायी संगठन, नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संगठन र नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघले सरकारको ध्यानाकर्षण गराएको हो ।

असोज ११ र १२ गतेको अविरल वर्षाको कारण आएको बाढी र पहिरोले राजधानी काठमाडौं लगायत देशभरी नै जनधनको ठूलो क्षती भएको छ। यसले चाडपर्वको सम्मुखमा व्यवसायीहरुको नियमित गतिविधीमै असर पुगेको व्यवसायीको भनाइ छ । वि.पि.राजमार्ग पूर्णरुपमा अवरोध हुदाँ करिब ६–७ सय सार्वजनिक सवारी साधनहरु र मजदुर अलपत्र परेका छन् । त्यसतर्फ ध्यान दिँदै तत्काल उद्धार कार्य गर्न व्यवसायी संगठनले माग गरेका छन् । अर्बाैंको लगानी विभिन्न भागमा बाढी र पहिरोले बगाएर पूर्ण क्षति पुऱ्याएको र यस्तो परिस्थितीमा नेपाल सरकार र सम्बन्धित निकायहरुले यथाशिघ्र पहलकदमी लिई दशैं अगावै समस्या समाधान गर्ने गरि पहलकदमी लिन व्यवसायी संगठनले सरकारसमक्ष भनेका छन् ।

यसैगरी बाढीपहिरोमा घाईते भएकाहरुको उपचार, उद्धार र राहतलाई अझै प्रभावकारी बनाउन नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ, नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संगठन तथा गणतान्त्रिक यातायात व्यवसायी संगठनले सरकार एवं सरोकार पक्षको ध्यानाकर्षण गराएको छ । उनीहरुले आफ्ना संघ, संगठनमा आवद्ध सदस्यहरुलाई पनि देशभरी उद्धार र राहतको काममा जुट्न अनुरोध गरेको छ ।

यो प्राकृतिक विपदले जनजीवन कष्टकर बन्नुका साथै, केही वर्षयता कठिन अवस्थाबाट गुज्रिरहेको अर्थतन्त्रलाई फेरि तहसनहस बनाएको व्यवसायिक संगठनहरुको ठहर छ । अरबौंको भौतिक संरचना र सयौं सार्वजनिक सवारी साधनमा क्षति र मजदुरहरुको समेत मृत्यु भइ अपूरणीय क्षति पुगेकोतर्फ ध्यान दिँदै आवश्यक सहयोग गर्न पनि व्यवसायिक संगठनहरुले आग्रह गरेका छन् ।

 

Health Tips Ad Road Block