काठमाडौं । नेपाल आयल निगमले ग्यासबाहेक सबै पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्य अनुसार निगम संचालक समितिको निर्णय बमोजिम मूल्य समायोजन गरिएको हो ।
नयाँ समायोजित मूल्य आज राति एक बजेदेखि लागु हुनेछ । निगमको नयाँ निर्णयअनुसार साविकको खुद्रा विक्री मूल्यमा पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ र आन्तरिक हवाई इन्धनतर्फ प्रतिलिटर ६ रुपैयाँका दरले घटाईएको छ।
अन्तर्राष्ट्रिय हवाई इन्धनतर्फ प्रति किलोलिटर अमेरिकी डलर ४५ ले घटाई बिक्री मूल्य कायम गरिएको आयल निगमले जनाएको छ । यता खाना पकाउने एलपि ग्यासको मूल्य निरन्तर वृद्धि हुन गई निगमलाई प्रति सिलिण्डर २६९.८० रुपैयाँ घाटा भएतापनि हाललाई बिक्री मूल्य यथावत् नै राखिएको निगमले जनाएको छ।