skip this News Page Tips Ad Road Block

घटस्थापना असोज १७ गतेदेखि काठमाडौंमा पहिलो स्याउ मेला आयोजना हुने, विभिन्न ११ परिकार पाइने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । आगामी असोज १७ गतेदेखि प्रथम नेपाल एप्पल फेस्ट २०२४ (स्याउ मेला २०८१) हुने भएको छ । होटल मनाङ ठमेलको सहकार्यमा किसान भेन्चरले मेला आयोजना गर्न लागेको मंगलबार आयोजित कार्यक्रममा जानकारी दिइयो । होटल मनाङ ठमेल र उत्पला क्याफे बौद्धमा बिहान १० बजेदेखि साँझसम्म मेला सञ्चालन हुनेछ । मेला असोज १९ गतेसम्म तीन दिन चल्नेछ । मेलामा १५० रुपैयाँदेखि ३५० रुपैयाँ प्रतिकिलोसम्ममा अर्गानिक स्याउ किन्न पाइने आयोजकले जनाएको छ ।

नेपालमा स्याउ खेतीको समृद्ध विरासतलाई प्रोत्साहन गर्नु, विभिन्न प्रजातिका स्याउको प्रदर्शन गर्नु, नेपालमा कृषिको सम्भावनालाई प्रवद्र्धन गर्नु नेपाल एप्पल फेस्ट २०२४ को उद्देश्य रहेको छ । मेलामा स्याउ उत्पादनदेखि बजारसम्म पुर्याउन कृषकले भोग्नुपरेका चुनौतीहरुबारे पनि उजागर गरिने आयोजकले जनाएको छ । किसान भेन्चरका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत राजेश कार्कीले स्थानीय किसानसँग स्याउ खरिद गरेर उपभोक्ता आपूर्तिकर्ता र उ‌द्योग विशेषज्ञसँग सिधा सम्पर्क बनाउनु मेलाको मुख्य उ‌द्देश्य रहेको बताए । यसले स्थानीय रुपमा उत्पादन गरिएको स्याउको बारेमा ग्राहकलाई जानकारी दिई स्वस्थ स्याउ छनोट गर्न सहयोग पुर्याउने विश्वास रहेको उनले बताए ।

पत्रकार सम्मेलनमा मनाङ होटलकी अपरेशन म्यानेजर मेलिना राईले ठमेललाई नाइट लाइफ मात्रै भन्ने सोचाईलाई परिवर्तन गर्दै नेपाली उत्पादन, संस्कृति, कलाको संरक्षण गर्ने उदेश्यले आफूहरु लागिपरेको बताइन् । अर्गानिक स्याउलाई विदेशी बजारसम्म पुर्याउन र किसानहरुलाई प्रोत्साहन गर्न मेला आयोजना गरिएको राईले बताइन् ।

मेलाले चाडबाडको समयमा स्वस्थ खानेकुराको प्रवर्धन गर्ने विश्वास समेत लिइएको आयोजकको भनाई छ । मेलाको मुख्य नारा ‘यो दशैं स्याउसँग मनाऊँ, खुशी बाँडौँ, स्वास्थ खानेकुरा खाऔं नेपालका उत्कृष्ट स्याउको स्वाद चाखौँ’ रहेको छ ।

कार्यक्रममा ठमेल पर्यटन परिषद्का अध्यक्ष ध्रुव अधिकारीले अर्गानिक उत्पादनमा साथ दिने बताउँदै आइपर्ने सबै विषयमा सहजीकरण गर्ने बताए ।

यसअघि नेपाली उत्पादनलाई समर्थन गर्न र ताजा तथा स्वस्थ आँपको स्वाद बाँड्न गत असार पहिलो साता किसान भेन्चरको आयोजनामा प्रथम आँप मेला भएकोमा त्यसपश्चात् आयोजना गरिएको यो दोस्रो कार्यक्रम हो भने नेपालमा पहिलो पटक स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न स्याउ महोत्सव गर्न लागिएको हो । मेलामा जुम्ला, हुम्ला, बाजुरा, मनाङ, मुस्ताङ, जाजरकोटसहित विभिन्न जिल्लाबाट ल्याइएका ५० मेट्रिक टन स्याउ प्रदर्शनमा राखी बिक्री गरिने लक्ष्य लिइएको छ । गाला, फुजी रेड डेलिसियस र गोल्डेन स्याउका एप्पल स्मुथ, एप्पल पानीपुरी, एप्पल लेमन मिन्ट मनाङ एप्पल सलाद, एप्पल चिकेन विथ राइस, एप्पल पनिर विथ राइस, एप्पल पाई, एप्पल टार्ट, एप्पल आइसक्रिम, एप्पल केकलगायत ११ भन्दा बढी परिकारहरुको स्वाद प्रदर्शनीस्थलमा चाख्न पाइने आयोजकले जानकारी दिएको छ । पत्रकार सम्मेलनमा फस्ट एप्पल फेयर लोगो सार्वजनिकसमेत गरिएको थियो ।

Health Tips Ad Road Block