काठमाडौं । यसपालिको दशैंमा काठमाडौं उपत्यकाभित्र २३ हजार खसीबोका तथा च्याङ्ग्रा खपत हुने अनुमानसहित सरकारी निकाय र निजी व्यवसायीले सोही संख्यामा खसीबोका र च्याङ्ग्रा उपत्यकामा ल्याउने तयारी गरेका छन् । दशैं आउन लागेको सन्दर्भमा यो तयारी थालिएको हो ।
घटस्थापनादेखि खसीबोकाको कारोबार बढ्ने भएकाले यतिबेला गाउँगाउँमा पुगेर व्यवसायीले खसीबोका एवं च्याङ्ग्रा खरिद कार्य अगाडि बढाउन थालेका छन् । आर्थिक सिथिलताका कारण यसपाली विगतका तुलनामा खसीबोका कम खरिद हुने अनुमान गरिएको छ ।
हाल बजारमा जिउँदो खसीबोका प्रतिकेजी ६५० देखि ६८० रुपैयाँसम्म रहेको छ । तयारी मासु भने प्रतिकेजी एक हजार तीन सयदेखि एक हजार चार सय रुपैयाँसम्ममा कारोबार भइरहेको छ ।
यसपाली खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैंमा एक हजार आठ सय खसीबोका र च्याङ्ग्रा ल्याउने तयारी गरेको बताएको छ । कम्पनीले एक हजार पाँच सय खसीबोका र तीन सय च्याङ्ग्रा खरिद गरेर बिक्री गर्ने तयारी गरेको जनाएको छ ।