काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले ४० करोड रुपैयाँभन्दा माथिका भ्रष्टाचारका घटनामा ठूला दलहरुबीच सहमति हुने गरेको अभिव्यक्ति दिएपछि राजनीतिक वृतमा तरंग उत्पन्न भएको छ । भ्रष्टाचार नियन्त्रण र सुशासनमा उल्लेख कदम चालेको भनेर चर्का चर्का भाषण गर्ने शिर्ष नेताहरुलाई यसले झस्काइदिएको छ ।
अर्थशास्त्री हरि रोकाले लेखेको पुस्तक ‘वैकल्पिक अर्थतन्त्र’ विमोचन गर्दै महासचिव भूसालले ठूला भ्रष्टाचारका घटनामा कांग्रेस, एमाले, माओवादी, नेकपा एकीकृत समाजवादीलगायत दलको कुनै न कुनै खालको संलग्नता हुने बताएका थिए । उनले भने, ‘४०–५० करोडभन्दा ठूला कुनैपनि भ्रष्टाचारका मुद्दाहरुमा राष्ट्रिय सहमति हुन्छ । त्यहाँ कांग्रेस पनि हुन्छ, माओवादी पनि हुन्छ, एमाले पनि हुन्छ, मेरै पार्टी पनि होला । त्यो नभइकन अगाडि बढ्दै बढ्दैन । ठूलाहरुका बीचमा राष्ट्रिय सहमति गरेर तिनले पार्टी पनि सक्छन् । राजनीति पनि सक्छन् ।’
यो भनाइ अहिले बहसमा छ । नेताहरुले संसददेखि सार्वजनिक स्थानमा एक अर्कालाई गाली गलौज र दोषारोपण गरेर हिलो छ्यापाछ्याप गरिरहेका बेला यो भनाइ अहिले चर्चामा रहेको हो । नेता भूसालले अहिले दलहरुले नै घुस खाने मान्छे उत्पादन गरिरहेको आरोपसमेत लगाएका थिए । आत्मनिर्भर देश बनाउने हो भने भ्रष्टहरु पालित, पोषित नहुने र भ्रष्ट नजन्मिने पार्टी हुनुपर्ने व्यङ्ग्यसमेत गरेका छन् ।
उनले भ्रष्टलाई नेताले संरक्षण नगरेसम्म नेता नै नहुने गरेको दृष्टान्त दिँदै सबै सच्चिन आवश्यक रहेको बताए ।
नेता भूसालको यो भनाईलाई लिएर दलहरुमा लागेर अकूत सम्पति कमाएकाहरुको सम्पति छानबिन गर्नुपर्ने माग उठ्न थालेको छ ।